जनकपुरधाम ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमाले पार्टीमा प्रवेश गरेका नेकपा माओवादी केन्द्रका चारजना सांसद पदमुक्त भएका छन् ।

सोमबार माओवादी केन्द्रको सिफारिसमा ती सांसदलाई सभामुख सरोज यादवले पदमुक्त गरेका हुन् । बैठकमा सभामुख यादवले पत्र पढेर माओवादी केन्द्रबाट एमालेमा लागेका रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त भएको घोषणा गरे ।

नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेको नेकपा सर्वोच्च अदालतले खारेज गरेपछि नेताहरु फरकधारमा उभिएका थिए । पार्टीको विधान विपरित गएकोले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ (१) ख बमोजिम पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चारैजनालाई कारवाही गरिएको सभामुख समक्ष पठाइएको पत्रमा उल्लेख गरिएको छ ।

चारजना सांसद नेकपा एमालेमा लागेपछि पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिए पनि उनीहरुले नदिएपछि उनीहरुलाई पदमुक्त गर्न सिफारिस गरिएको थियो । माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरु थिए । जसमा चारजना कारवाहीमा परेसँगै अब यस पार्टीको प्रदेश २ मा ७ जना सांसद रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।