काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका अधिकांश क्षेत्रमा ठूलो क्षति पु¥याएको छ तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै आएका छन् ।

आइतबार दिउँसो डढेलो लागेपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल निकुञ्ज क्षेत्रमा पुग्यो । दमकलले ढडेलो नियन्त्रण गर्न कठिन भएपछि सेना र सिम्रिक एयरको हेलिकोप्टरले डढेलो नियन्त्रणको प्रयास गरेको महाराजगन्जका डीएसपी रोशन खड्काले जानकारी दिए । सैनिक मुख्यालय प्रमुख सेनानी दीपक भण्डारीका अनुसार सेनाका तीनवटा दमकल र सिम्रिक एयरका समेत गरी दुई हेलिकोप्टर डढेलो नियन्त्रणका लागि पठाइएको र डढेलो लगभग नियन्त्रणमा आएको थियो ।

मनाङका जंगलमा लागेको डढेलो अझै पूर्णनियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रूखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना, सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रणमा लिएका थिए । यसका लागि अग्निरेखा तयार गरी आगो आउने क्षेत्रमा आगो लगाएर आगो नियन्त्रण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिए । हिमाली क्षेत्रमा बिरुवा उम्रन समय लाग्छ । उम्रिए जोगाउनै हम्मेहम्मे पर्ने जिल्लामा स्थानीयवासीले दुःख गरेर जोगाएका वनमा आगो लाग्न थालेको डेढ महिना भयो । स्थानीय खान्की नै बोकेर जंगल आगो निभाउन पसेका थिए ।

– नियन्त्रणका कार्यक्रम प्रभावहीन
– जैविक विविधता नष्ट हुँदै
– मुलुकका मध्यदेखि पश्चिमसम्म वन डढेलो
– पूर्वी नेपालमा केही मात्रामा नियन्त्रण

पातलो बस्ती र सल्लाको वन रहेको नासो गाउँपालिका–८ ताचै गाउँको बस्तीतर्फ आगो फैलिएको थियो । आगोका कारण जिल्लाको आकाश धुवाँको मुस्लोले अझै ढाकेको छ । चामे गाउँपालिका–२ थानचोक पारी वनबाट गत मंसिर ११ गतेदेखि सुरु भएको आगो ताचैसम्म पुगेको थियो । त्रासैत्रासबीच स्थानीय आगो नियन्त्रणमा जुटेका थिए । मानवबस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले सक्रियता देखाएको थियो । वडा नम्बर ८ का वडाध्यक्ष हुपजंग गुरुङले विपद्को समयमा प्रशासनले सहयोग नगर्दा पूरै बस्ती जोखिममा परेको बताए । अहिले बस्ती सुरक्षित छ । ‘वन र वन्यजन्तु जोगाउन सकिएन’, उनले भने । यस वडामा ६५ घरधुरीको चरान क्षेत्र मात्रै नभई घाँस दाउरा र जडीबुटी संकलन क्षेत्रसमेत रहेको उनले जानकारी दिए ।

विगत केही दिनयता तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्यतराई तथा केही पहाडी भेगमा डढेलो लागेकाले सतर्क रहन विज्ञले चेतावनी दिएका छन् । डढेलोका कारण वायुप्रदूषण पनि बढेको छ र त्यसबाट जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने चेतावनी पनि दिइएको छ । यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागका उपसचिव तथा डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताए । साता दिनमा एकपटक पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम उत्तिकै हुने भएकाले जंगलनजिकैका बस्ती थप सचेत बन्नुपर्ने उनले बताए । नेपालमा सामान्यतः चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्छ ।

एकै दिन ४७ जिल्लाका ४ सय ७९ स्थानमा बिहीबार डढेलो लागेको दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जाल संयोजक डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार आइतबार अपराह्नसम्म ४ सयभन्दा बढी स्थानमा डढेलो लागेको जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष बढी डढेलो लागेको उनले बताए । ‘मुलुकको मध्यदेखि पश्चिमका अधिकांश जिल्लामा डढेलो लागेको देखिन्छ,’ नासाको मोडिस प्रविधिले खिचेको डढेलोको तस्बिर विश्लेषण गर्दै उनले भने, ‘डढेलोको विषयलाई विगतमा हामीले जलवायु परिवर्तनको कारकका रूपमा लिने गरेका थिएनौं, तर यस वर्ष अत्यधिक डढेलो लागेपछि हामीले त्यसतर्फ पनि विशेष अध्ययन अनुसन्धान गरिरहेका छौं ।’

मध्य फागुनदेखि मध्य वैशाखसम्म अत्यधिक डढेलो लाग्ने गर्छ । हिमाली क्षेत्रमा कात्तिकमै डढेलो लाग्न सुरु हुन्छ । यो वर्ष रसुवा, ताप्लेजुङ, मनाङ, गोरखा, लमजुङलगायतका हिमाली जिल्लामा मंसिरदेखि नै डढेलो लागेको डढेलोविज्ञ शर्माले जानकारी दिए । ‘केही हिमाली जिल्लामा अझै डढेलो नियन्त्रणमा आएको छैन । अघिल्ला ५ वर्षको कात्तिकदेखि चैतसम्मका डढेलोको तथ्यांकलाई विश्लेषण गर्दा पनि यस वर्षको डढेलो संख्या उच्च पाइएको हो,’ उनले भने, अघिल्लो वर्ष कात्तिकदेखि चैत १२ सम्म १ सय ६५ स्थानमा डढेलो लागेको थियो । यो वर्ष यही अवधिमा २ हजार ८७ स्थानमा डढेलो लागेको देखिन्छ । डढेलो लाग्ने मुख्य सिजन त अझै बाँकी छ ।’

मुलुकभर डढेलोको प्रकोप बढेपछि शर्मालाई गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा डढेलो विज्ञका रूपमा खटाइएको छ । उनका अनुसार प्राधिकरणले सबै किसिमका प्रकोपसम्बन्धी तथ्यांक एकीकृत गरिरहेको छ । मंसिर–पुसमा उच्च हिमाली क्षेत्रमा मात्र डढेलो लागेकामा फागुनपछि मध्य पहाडी क्षेत्र र तराईका निकुञ्ज–आरक्षसहित सरकारी र सामुदायिक वनमा डढेलो बढेको छ । सन् २०१६ अप्रिलमा ५ हजार ३ सय ९६ स्थानमा डढेलो लागेको थियो । यो संख्या एक महिनामा रेकर्ड गरिएको अहिलेसम्मकै धेरै हो । त्यही वर्षको मार्चमा १ हजार २ सय ७९ स्थानमा डढेलो लागेको थियो । गत वर्ष मार्चमा भने १ सय २२ र अप्रिलमा ५ सय १५ स्थानमा डढेलो लागेको थियो ।

डढेलोविज्ञ शर्माका अनुसार नेपालमा ६४ प्रतिशत डढेलो नियतवश र ३२ प्रतिशत असावधानीवश लाग्छ । ४ प्रतिशत डढेलोको कारण भने थाहा हुन सकेको छैन । सन् २००५ देखि सन् २०२१ (मार्च)सम्म डढेलोले १ सय ६ जनाको ज्यान लिएको छ । सबैभन्दा बढी सन् २००९ मा ४९ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा डढेलोले कुनै मानवीय क्षति गरेको थिएन । गत वर्ष डढेलोमा परी एकको मृत्यु भएको थियो । यो वर्ष पनि डढेलोका कारण एकको मृत्यु भइसकेको छ ।

डढेलोले अत्यधिक क्षति गर्न थालेपछि त्यसको निराकरणका लागि वन मन्त्रालयले २०६७ मा डढेलो व्यवस्थापन रणनीति ल्याएको थियो । रणनीतिमा जनचेतना फैलाउने र डढेलो नियन्त्रणका लागि जनशक्ति तयार पार्ने र प्रविधिको विकास गर्ने उल्लेख छ । रणनीतिले भनेजस्तो जनशक्ति भने तयार हुन सकेको छैन ।

अझै पनि स्याउला र पानीकै भरमा डढेलो नियन्त्रणको प्रयास गर्ने गरेको देखिन्छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश लम्साल सीमित स्रोत र साधनका कारण उल्लेख्य मात्रामा जनशक्ति तयार पार्न र उपकरण परिचालन गर्न नसकिएको बताउँछन् । ‘क्षमताअनुसार प्रदेश र सामुदायिक वनहरूमा केही संख्यामा डढेलो निभाउने उपकरण वितरण गरिएका छन्,’ उनले भने, ‘जलवायु परिवर्तनले पृथ्वीमै तापक्रम बढाएकाले नियन्त्रण गर्नै नसकिने गरी डढेलोलगायतका प्रकोप पनि बढिरहेका हुन् ।’

‘फायर लाइन’ अर्थात् अग्निरेखा
आगो नियन्त्रणका लागि सशस्त्र प्रहरीको विपद् व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय र स्थानीयवासीको प्रयासमा ‘फायर लाइन’ अर्थात् अग्निरेखा बनाएर नियन्त्रणको प्रयास थालिएको थियो । फायर लाइन निश्चित आगो थप फैलन नपाओस् भनेर निश्चित क्षेत्रमा आगो लगाएर आगो फैलन नदिने प्रविधि हो ।

आगो नियन्त्रण गर्न निर्माण गरिने आगोको घेरालाई नै अग्निरेखा भनिन्छ । यहाँ पनि सेना, सशत्र प्रहरी र स्थानीयवासीले आगो आएको ठाउँतिर करिब १०० मिटर वरबाट आगो आएको दिशातर्फ आगो लगाएर आगो नियन्त्रण लिएका हुन् । यसरी अग्निरेखा निर्माण गर्दा दुवैतर्फको आगोको भेट हुने र बढी क्षेत्रमा फैलन नपाउने अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनले भौगोलिक जोखिम र स्रोत साधनको अभावमा तत्काल ‘फायर लाइन’को विकल्प नभएको बताए । एक्यापको संरक्षकत्वमा रहेको जंगलको सात सय हेक्टर वन जलेर सखाप भएको छ । स्रोतसाधन अभाव र समयमा प्रशासनको बेवास्ताका कारण लामो समयदेखि आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीको गुनासो छ ।

नेपालमा वन डढेलो प्राकृतिक कारण मात्र नभएर मानवीय कारणले पनि लाग्दै आएको देखिन्छ । वन पैदावार संकलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण बने । जलवायु परिवर्तनका कारण पृथ्वीको बढ्दो तापमानले पनि डढेलोको समस्या झन् जटिल बनाएको छ । नेपालको सन्दर्भमा वन डढेलोलाई वन विनास र क्षयीकरणको प्रमुख कारण मानिएको छ ।

 आजको राजधानी दैनिकमा खबर छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।