काठमाडौँ । कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ।ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपाका नेताहरू बताउँछन्।

ठाकुरनिकट नेताहरू प्रधानमन्त्री र ओलीबीचको निकटता आगामी चुनाव र सत्ता सहयात्रासम्म जान सक्ने बताउँछन्।‘पोहोर फागुनमा प्रधानमन्त्री ओली महाराजगन्जस्थित मनमोहन अस्पतालमा भर्ना भएको बेलादेखि नै ओली र ठाकुरबीच निकटता बढेको हो,’ ठाकुरनिकट एक नेताले भने, ‘प्रधानमन्त्री मनमोहनमा भर्ना भएको बेला ठाकुरजी भेट्न जानुभएको थियो।त्यतिखेर प्रधानमन्त्रीज्यूले सन्चो भए माग पूरा गर्ने आश्वासन गर्दै विश्वास गर्न आग्रह गर्नुभएको थियो।त्यसपछि ठाकुरजी प्रधानमन्त्रीप्रति आशावादी देखिनुभएको हो ।’

मनमोहन अस्पतालबाट डिस्चार्ज भएपछि पनि प्रधानमन्त्री र ठाकुरबीच बारम्बार भेटघाट र कुराकानी हुने गरेको ठाकुरनिकट स्रोतको भनाइ छ।यो भेटघाट कहिले एक्लाएक्लै र कहिले संयुक्त हुने गरेको छ।‘मधेस आन्दोलन ठाकुरजीको अगुवाइ र नेतृत्वमा भएको हो।त्यसैले आन्दोलनका बेला बन्दी बनाइएकाहरूको रिहाइ र मुद्दा फिर्ताका लागि पहल गर्ने जिम्मेवारी पनि ठाकुरजीकै काँधमा छ,’ जसपाका ठाकुरनिकट नेता डा. सुरेन्द्र झा भन्छन्, ‘प्रधानमन्त्रीले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री र ठाकुरबीच निकटता बढ्दै गएको हो ।’ प्रधानमन्त्रीले ठाकुरलाई सरकारको नेतृत्व गर्नसम्मको प्रस्ताव गरेको झाले दाबी गरे।‘प्रधानमन्त्रीले ठाकुरसँग सरकारको नेतृत्व गर्ने अवस्था आउन सक्नेसम्म भन्नुभएको छ,’ उनले भने, ‘यस्तो प्रस्ताव अन्य पार्टीबाट आएको छैन ।’

प्रधानमन्त्री र ठाकुरबीचको निकटता शुक्रबार नेपाली कांग्रेसले बोलाएको तीन दलको बैठकमा पनि देखियो।कांग्रेसले राखेको ओली सरकार ढाल्ने प्रस्तावमा ठाकुरले सहमति जनाएनन्।उक्त बैठकमा ओलीसँग मिल्नैहुँदैन भनेर अडान राख्ने संघीय परिषद्का अध्यक्ष डा. बाबुराम  भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले पनि ठाकुरको लाइनविपरीत बोलेनन्।

अहिले जसपाभित्र दुई लाइन छन्।एउटा लाइनको नेतृत्व ठाकुरले र अर्को लाइनको नेतृत्व यादवले गरेका छन्।यादवलाई भट्टराईले साथ दिएका छन्।यादवनिकट नेता तथा सांसद उमाशंकर अरगरैया पनि पार्टीभित्र दुई लाइन देखिएको स्वीकार गर्छन्।‘पार्टीभित्र दुई लाइन छन्।यो त देखिएकै कुरा हो,’ उनले भने, ‘यसबारे तत्काल बैठक बसी पार्टीले एउटा लाइन समात्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले जसपाको माग पूरा गर्ने आश्वासन दिएको र ठाकुर प्रधानमन्त्रीसँग निकट देखिएको उनले बताए ।

ठाकुरलाई जसपाअन्तर्गत पूर्वराजपा अध्यक्ष मण्डलका एक नेता महेन्द्र यादवबाहेक सबैले साथ दिएका छन्।राजेन्द्र महतोले त खुलेरै साथ दिएका छन्।महेन्द्र यादव भने पछिल्लो समय उपेन्द्र यादवसँग निकट देखिएका छन्।जसपाका एक पदाधिकारीले भने, ‘प्रधानमन्त्रीको आश्वासनपछि ठाकुर निकै उत्साहित हुनुभएको छ ।’ प्रधानमन्त्री, ठाकुर र महतोबीच बढ्दै गएको निकटताप्रति पार्टीका अर्का यादवनिकट नेताहरूले भने मन पराएका छैनन्।तर दुई लाइनको विवादमा ठाकुर बहुमतमा छन्।अहिले यादवलाई ६ सांसदले मात्र साथ दिएको ठाकुरनिकट नेताले ठोकुवा गरे ।

‘अहिले भट्टराईजी र यादवजी पार्टी फुटाउने सक्ने अवस्थामा हुनुहुन्न,’ ती नेताले भने, ‘केन्द्रीय समितिमा ४० प्रतिशत पु¥याउन सके पनि संसदीय दलमा उहाँहरू अल्पमतमा हुनुहुन्छ ।’ पूर्वराजपाका महासचिव राजीव झाले प्रधानमन्त्रीले पार्टीले उठाएका माग पूरा गरे पार्टी सरकारमा जानुपर्ने बताए।पार्टीले राखेका माग पूरा गर्न ओली सरकारले प्रक्रिया अघि बढाएको बेला प्रधानमन्त्री र ठाकुरबीच निकटता बढ्नु स्वाभाविक भएको उनको भनाइ छ ।

आजको नागरिक दैनिकमा खबर छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।