एजेन्सी । स्पेनिस ‘एल क्लासिको’ मा बार्सिलोनालाई सहजै पाखा लगाउँदै स्पेनिस महारथी रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिन सफल भएको छ ।

क्याटलान क्लब बार्सिलोनालाई २–१ ले पराजित गरेपछि रियलले एट्लेटिको म्याड्रिड र बार्सिलोनालाई पछि पार्दै ला लिगाको शीर्षस्थानमा उक्लन सफल भएको हो । शीर्षस्थानमा उक्लिएको रियलको ३० खेलबाट ६६ अंक पुगेको छ । समान ६६ अंक भएपनि हेड टु हेडमा रियलले एट्लेटिकोलाई पछि पारेको हो । एट्लेटिकोले एक खेल कम खेलेको छ । पराजित बार्सिलोना ६५ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।

घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा रियलको जितमा कप्तान करिम बेन्जेमा र टोनी क्रुसले गोल गर्दा पाहुना टोली बार्सिलोनाका ओस्कार मिगुएजाले एक गोल फर्काए । यो जितसँगै रियलले सन् २०१३ पछि पहिलोपटक एकै सिजनको एल क्लासिको आफ्नो पक्षमा पारेको छ । २०१३ को क्लासिकोको दुवै रियलले आफ्नो पक्षमा पारेको थियो । यो सिजनको क्लासिको रियलले ३–१ ले जितेको थियो ।

खेलको १३औं मिनेटमा कप्तान करिम बेन्जेमाको गोलबाट रियलले अग्रता लिएको थियो । फेडे भाल्भेर्डेको पासमा लुकास भास्क्वेजले क्रस गरेको बललाई बेन्जेमाले ब्याकहिलबाट गोल गर्दा बार्सिलोनाका रक्षक ओस्कार मिगुएजा र गोलरक्षक मार्क आन्दर टेर स्टेगनले रोक्ने कुनै अवसर नै पाएन । २८औं मिनेटमा रियलले टोनी क्रुसको गोलबाट अग्रता दोब्बर बनायो ।

भिनिसियस जुनियरलाई पेनाल्टी बक्सबाहिर सर्जिनो डेस्टले लडाएपछि प्राप्त फ्रिकिकमा टोनी क्रुसको प्रहार सर्जिनोलाई डिफ्लेक्ट हुदै गोलमा परिणत हुदा गोललाईनमा रहेको जोडी अल्वाले बचाउने प्रयास गरेपनि सफल हुन सकेन । ३४औं मिनेटमा फेडे भाल्भर्डेको प्रहार पोस्टमा लागेर फर्कदा आएको रिवाउन्डमा लुकास भास्क्वेजको प्रहारलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले सहजै नियन्त्रणमा लिन सफल भए ।

४१औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनेल मेस्सीको प्रहारलाई लुकास भास्क्वेजले ब्लक गरिदिए । पहिलो हाफको इन्ज्युरी बार्सिलोनाको दुई प्रयास सफल हुन सकेन । ६०औं मिनेटमा ओस्कार मिगुएजाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने संकेत दिए । उनेल जोर्डी अल्वाको पासलाई सदुपयोग गरेका थिए । ६२औं मिनेटमा भिनिसिय जुनियर चुके । ६६औं मिनेटमा लुका मोड्रिचबाट आएको पासलाइ भिनिसियस जुनिएलाई मिलाइदिएको पासलाई बेन्जेमाले भेट्न सकेन ।

खेलको इन्ज्युरी समयमा रियल १० खेलाडीमा समेटिएको थियो । आक्रामक मिडफिल्डर क्यासमिरो एक मिनेटको अन्तरमा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । उनले पहिलोपटक मेस्सीलाई फल गर्दा दोस्रो पटक ओस्कार मिगुएजालाई फल गर्न पुगेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।