प्रदेश नं. १ सरकारको मन्त्री बनेका टंक आङ्बुहाङको सांसद पद खोसिएको छ । मन्त्री बनेको दश दिनपछि आङ्बुहाङ्लाई पार्टीले पदमुक्त गरेपछि उनको सांसद पद खोसिएको हो ।

नेकपा माओवादी केन्द्रका सभासद आङ्बुहाङ गत चैत १३ गते प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए। सांसद पद छाडेर मन्त्री बनेपछि पार्टीले उनलाई कारवाही गरेको जनाइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको भन्ने विषयमा पार्टीले स्पष्टिकरण माग्दा तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले उनीमाथि पार्टीले कारबाही गरेको हो।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १ नं. प्रदेश सभा संसदीय दलको सिफारिस अनुसार उनलाई पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल –प्रचण्ड’ले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। साथै आंङ्बुहाङलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ।

टङ्क आङ्बुहाङलाई चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले २४ घण्टे स्पष्टिकरण सोधेको थियो । तर उनले स्पष्टीकरण बुझाएका थिएनन् ।

नेकपा विभाजनमा एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैरसांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ । तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।