आज सोमबार बजारमा झिनो अंकको करेक्सन आएको छ।बजारमा ५.४५ अंकको झिनो करेक्सन आएको हो। योसँगै नेप्से परिसूचक २५४३.५२ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ०.३९ अंकले घटेर ४४९.९२ को विन्दुमा सीमित बनेको छ।

आज कारोबार रकम पनि घटेर साढे ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छनेपाल इन्भेस्टर फोरमका उपाध्यक्ष तुलसीराम ढकालले आजको बजार घटाइलाई सामान्य करेक्सनका रुपमा लिनुपर्ने बताए। ‘यो बेला व्यक्तिगतहरुले ब्याज तिर्नका लागि जोहो गर्न खोज्दा र संस्थागत लगानीकर्ताहरुले त्रैमास विवरणका लागि सेयरको बिक्रीचाप बढाउँदा बजारमा सामान्य करेक्सन देखिएको हो’, उनले भने, ‘आज तराईमा होली मनाइने र फागु पूर्णिमाका अवसरमा धेरैजसो मानिसहरु घुम्न गएकाले बजारमा कारोबार रकम घटेको हो।’

ढकालले आउँदो नयाँ वर्षबाट बजार नयाँ उचाइतिर लम्किने बताए। ‘बैंकहरुको व्यापार पहिलोभन्दा दोस्रो त्रैमास क्रमिक सुधार देखिएकोले तेस्रो त्रैमासमा पनि अझै बढ्न सक्ने भएकोले बजारमा छिटै रौनक आउनेछ’, उनले भने, ‘यो समयमा बोनस तथा हकप्रद सूचीकृत हुने हुँदा पनि बजारमा बिक्रीचाप पर्ने गर्छ’, उनले भने, ‘तर अहिले देशविदेशबाट व्यापक रुपमा सेयर बजारमा लगानी भइरहेकोले आउँदा दिनमा सकारात्मक ढंगले नै बजार अगाडि बढ्ने निश्चित छ।’

सक्रिय लगानीकर्ता निमानन्द कँडेल पनि चैतमात्र ब्याज तिर्ने चटारो हुँदा बजारमा बिक्रीचाप बढेर केही दिन अझै करेक्सन आउन सक्ने बताउँछन्। ‘लघुवित्त आज केही बढेको देखियो’, उनले भने, ‘विस्तार बैंकहरु पनि बढ्ने छन्। बैंकहरु बढ्न थालेपछि बजार माथि नै जाने हो।’

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ३ वटामा मात्रै हरियाली छाएको छ भने बाँकी १० वटामा रातो पोतिएको छ।

यो दिन लघुवित्त समूह सर्वाधिक ४४.५ अंकले उकालो लागेको छ। जलविद्युत् समूह २४.५२ अंकले बढेको आज वित्त समूहमा ५.२ अंकको बढोत्तरी आएको छ।

आज व्यापार समूह सबैभन्दा बढी २१२.८३ अंकले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह १४४.८२ अंकले घटेको यो दिन बैंकिङ समूहमा ६.७२ अंक, विकास बैंक समूहमा ०.४८ अंक, निर्जीवन बीमा समूहमा २१.९ अंक, उत्पादन तथा प्रशोधन समूहमा २०.१८ अंक, अन्य समूहमा १९.२१ अंक, जीवन बीमा समूहमा ३०.६५ अंक, म्युचुअल फन्ड समूहमा ०.०६ अंक र लगानी समूहमा ०.०६ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २०९ कम्पनीका ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँमा कारोबार भएका छन्।

यो दिन निफ्राको सर्वाधिक ४४ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। माथिल्लो तामाकोशीको ३८ करोड ७७ लाख रुपैयाँबराबरको कारोबार भएको आज चन्द्रागिरी हिल्सको ३७ करोड ७ लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकको १४ करोड ६९ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको १२ करोड ८९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ९ करोड ५२ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको ८ करोड ९५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड १० लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३४ लाख रुपैयाँ र नबिल बैंकको ६ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ३ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। उन्नति सहकार्य लघुवित्तको सेयरमूल्यमा १० प्रतिशत तथा अजोड इन्स्योरेन्स र महिला लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन समिट लघुवित्तको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।

लगातार मूल्य उछाल आइरहेको चन्द्रागिरी हिल्सका सेयरधनीहरुले आज धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशत बढीको गिरावट आएको छ। त्यस्तै माउन्टेन हाइड्रोको सेयरमूल्य पनि ७ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।