file photo

हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा उपस्थित भक्तहरूको भीडले शिवरात्रिको महत्व तथा भगवान् शिवप्रतिको आस्थाको उजागर गर्छ। यसबाहेक घरघरमा रहेर शिवको उपासना गर्नेहरू पनि असंख्य हुन्छन्। हरेक उमेर समूहका व्यक्तिमा शिवभक्ति उत्तिकै देखिनुले हिन्दु सनातन परम्पराप्रति हाम्रो अचेतनमा रहेको आस्थाको विम्बन गर्छ। शिवभक्ति र शिवरात्रिको यसै सन्दर्भमा शिव–शक्तिको महिमाबारे सही व्याख्या गरिनु पनि आवश्यक देखिन्छ। किनभने अहिले शिवरात्रिलाई ‘नांगा बाबा’ हरूको दर्शन गर्दै ‘शिवबुटी’ का नाममा लागुपदार्थको निर्बाध प्रयोग गर्ने दिनका रूपमा लिनेहरूको पनि कमी छैन।

आदिदेवका रूपमा रहेका शिव तथा आदिशक्तिका रूपमा रहेकी देवीको संगम शिवशक्ति प्रकृति र पुरुषको मेलबाट सञ्चालित जीवन–जगत्को प्रतीक मानिन्छ। यी दुवैबाट हामीले जीवनको मूल्यबोध तथा धर्म र कर्मको सही अर्थबोध गर्न सक्छौं। ज्ञान र विज्ञानलाई एकसाथ लिएर अघि बढ्न सक्ने समाजमै सुख र सन्तुष्टि दुवै हुन्छ। यी दुईमध्ये कुनै एकलाई मात्र महत्व दिइयो भने मानिस सुखी भएर पनि सन्तुष्ट हुन सक्दैन। भौतिकवाद र विज्ञानको मात्र पछि लागेकाले उन्नतिको शिखरमा पुगेका पश्चिमी मुलुकका नागरिक प्रायः मानसिक रूपमा सन्तुष्ट देखिँदैनन्। हाम्रै समाजमा पनि भौतिक सुखसुविधाले पूर्ण भएकाहरू मानसिक दुःखका कारण रोगी बनिरहेको देखिन्छ।

धर्मको मर्म नबुझेर बिहान भगवान्लाई पूmल चढाउँदा र साँझ दियो जलाउँदासम्म अर्काको कुभलो चिताउन नछाड्नेहरू पनि यहीं छन्। आफ्नो भलाइका लागि मात्र नभएर अर्काको अनष्टिको कामना गर्दै भगवान्लाई भाकल गर्नेहरूको कमीसमेत हाम्रो समाजमा छैन। मन्दिरमा घुइँचोको फाइदा उठाएर जुत्ता–चप्पलदेखि गर–गहना चोर्नेहरू त छँदैछन्; शिवरात्रिमा पशुपतिनाथपरिसरमा पूmलले सजाइएको बसाहा लुछेर पूmल लैजाने भक्तहरू पनि शिवजीले नदेखेका कहाँ हुन् र ?

रातभर शिवधुनी जगाउने भन्दै अर्काको काठपात–दाउरा चोर्ने, घण्टकर्णको अन्त्येष्टि गर्न भनी बाटोमा डोरी टाँगेर यात्रु तथा सवारी साधनलाई अनावश्यक दुःख दिने संस्कृति पनि हामीले नै निर्माण गरेका हौं ! यसको निर्देश न हाम्रा धर्मग्रन्थले गरेका हुन् न त ऋषिमुनिले नै। त्यसैले पर्व र परम्पराका नाममा हुने विकृतिलाई हतोत्साही गर्दै ती पर्व एवम् धर्मको सही अर्थबोध गर्नुपर्ने आवश्यकता हामीमाझ खट्किएको छ।

वर्तमानमा राजनीतिक एवं सामाजिक मुद्दाका रूपमा जुन समतामूलक समाजको परिकल्पना गरिएको छ; त्यसलाई हाम्रो सनातन परम्परामा शिव–शक्तिको सम्बन्धका माध्यमबाट प्रस्तुत गरिएको छ। सामाजिक रूपान्तरणका लागि जाति र वर्गको अन्त्य हुनुपर्ने मान्यता शिवले सतीसँग विवाह गरेर स्थापित गरेका हुन्। दक्ष प्रजापतिजस्ता राजाकी छोरी सतीदेवीसँग विवाह गर्न शिव सन्न्यासी रूपमा जानुको आशय यही थियो। सोही आशयअनुरूप देवी सतीले पनि शिवलाई सहर्ष स्वीकार गरिन्। समाजमा सम्भ्रान्त वर्गले विपन्न वर्गप्रति राख्ने नकारात्मक धारणा र उनीहरूलाई दिइने प्रताडनाका कारण यस्ता वर्गको जीवन दुर्घटित हुने यथार्थलाई सतीदेवीमाथि उनका माइतीद्वारा गरिएको अपमान तथा त्यसलाई सहन गर्न नसकी उनले गरेको आत्मदाहको घटनाले प्रतिविम्बित गरेको छ। शिव र सतीको कथा दाम्पत्य प्रेमको अमर गाथा हो। किनकि संसारमा शिवजस्तो पत्नीलाई प्रेम गर्ने पति अर्को देखिँदैन। शिवले विक्षिप्त भई पत्नीको शव बोकेर संसारको भ्रमण गर्नु, सतीले पार्वतीका रूपमा पुनर्जन्म लिएर हरप्रयास गरी पुनः शिवलाई नै पति वरण गर्नु दाम्पत्य प्रेमको अद्वितीय कथा हो।

परिवारमा दाम्पत्य प्रेम तथा सुसम्बन्धको महत्व तथा पतिपत्नीले एकअर्काको अस्तित्वको सम्मान तथा भावनाको कदर गर्नुपर्छ भन्ने यथार्थका साक्षी हुन् शिव–पार्वती। वर्तमानमा स्थापित नारी अस्तित्व र पहिचानका सन्दर्भ पनि शिव–पार्वतीसँग सम्बन्धित कथामा पाइन्छ। दैत्यहरूले अत्याचार गरेको देखेर शिवसँग सहायता माग्न गएकी पार्वतीलाई शिवले ‘संकटको समयमा नारी किन पुरुषको सहायता खोज्न आउँछन् ?’ भन्ने प्रश्न गर्दै आफ्नो समस्याको समाधान आफैंले खोज्नुपर्छ भनेर उनीभित्रको सुषुप्त शक्ति (महाकाली) जागृत गराएको प्रसंग पनि निकै प्रेरक छ। यस दृष्टिले पश्चिमा जगतमा अठारौं शताब्दीमा देखा परेको नारीवादी चिन्तन पूर्वीय परम्परामा आदिकालमै रहेको देखिन्छ तर यसको सही व्याख्या र प्रचारप्रसार भने हुन सकेन।

नारी–पुरुष एकअर्काको प्रतिद्वन्द्वी नभएर परिपूरक हो भन्ने यथार्थबोध गराउन शिवले शक्ति (पार्वती) बिना शिव केवल शव हो भनेको सन्दर्भ पनि विभिन्न पौराणिक प्रसंगमा पाइन्छन्। यस्ता नारीवादी देव शिवको स्वरूपमा जीवन जगत्को वास्तविक चित्र देखिन्छ। वैभव तथा भौतिक सुखलाई तुच्छ मान्दै जनावरका छालालाई वस्त्रका रूपमा प्रयोग गर्ने, सर्पका गहना लगाउने उनले मसानमा वास गरेर जीवनको अन्तिम गन्तव्य त्यही भएको सन्देश दिएका छन्।

मानिसले जति नै भोगविलास गरे पनि, कुकृत्य र अपराध गरी सम्पत्ति कमाए पनि उसको भोग सकिएपछि त्यो वैभवले उसलाई चिताको ज्वालाबाट जोगाउन सक्दैन भन्ने यथार्थबोध गराउन शिव चिताभस्म शरीरमा लेपन गर्छन्। भूत–प्रेत, डाकिनी–साकिनी आदि सबैले घृणा गर्ने पात्रलाई आफ्नोवरिपरि स्थान दिने उनले बाघको छालाको आसन गर्छन्। यसको आशय हो– जसले हिंस्रक शक्तिमाथि नियन्त्रण राख्न सक्छ उही सफल र महान् बन्छ। शिवले विष, भाङ, धतुरो आदि सेवन गर्दछन् भन्नुको अर्थ जीवन–जगत्मा राम्रा–नराम्रा सबै पक्ष हुन्छन् र ती सबैको आआफ्नै महत्व पनि हुन्छ। सही प्रयोगद्वारा विष पनि औषधि बन्न सक्छ। विषमतालाई आपूmभित्र त्यसरी नै दबाएर राख्नुपर्छ जसरी शिवले हलाहल पान गरी संसारलाई अनिष्टबाट जोगाएका थिए। सदा साधनारत शिवबाट सिक्नुपर्ने अर्को कुरा हो– हामीले हरक्षण आफ्ना विचार एवम् व्यवहारबारे आफैले मन्थन गर्नुपर्छ। आत्ममूल्यांकनले नै जीवनलाई सार्थक बनाउँछ।

यस्ता असंख्य प्रेरक प्रसंग छन् शिव–शक्ति तथा शिवरात्रिसँग जोडिएका तर विडम्बना ! गंगोत्रीको पावन जलजस्तो हाम्रो सनातन परम्परा र संस्कृतिलाई सही व्याख्याता मिलेन। धर्मभिरुहरूले आआफ्नै अनुकूलतामा व्याख्या गर्दै त्यसलाई धमिल्याउँदै गए। कसैले यसलाई जाति, वर्ग, लिंगका आधारमा विभेदकारी बनाउँदै शंकुचन गराए त कसैले कर्मकाण्डीय व्याख्यानमा जोडेर व्यावहारिक जीवनका लागि उत्पीडनकारी देखाए। ईश्वरको शाश्वत स्वरूप ज्योति (प्रकाश) हो जुन निराकार हुन्छ ! ईश्वरको अनुभव अनहद नाद हो, जुन निःशब्द हुन्छ भन्ने आत्मज्ञानको प्रचारको अभावमा हामी परम्पराको अन्धानुकरण गरिरहेका छौं। धर्म, अध्यात्म र ईश्वरसँग हाम्रो नैतिकता र सदाचार जोडिएको हुन्छ भन्ने यथार्थको प्रचार र मनन आजको मूल आवश्यकता हो।

शिवरात्रिको सन्देश हो– मानिसमा त्याग, सदाचार तथा नैतिक मूल्य हुनुपर्छ। समाज तथा परिवार विभेदमुक्त हुन सकेमा मात्र मानिस सुखी रहन सक्छ। मनभरि कुविचारको अँध्यारो बोकेर, दुराचारको मौका कुर्दै जस्तै अग्नि प्रज्ज्वलित गरे पनि त्यसले उज्यालो छर्न सक्दैन। जीवनभर धन–सम्पत्ति, मान–प्रतिष्ठाका पछाडि दौडे पनि मानसिक सन्तुष्टि छैन भने हामी सुखी रहन सक्दैनौं। मानसिक सुख तथा मोक्षको मार्ग हो– आध्यात्मिक चिन्तन र ध्यान। ज्ञान र ध्यान दुवैलाई आत्मसात गर्दै, परोपकार पुण्य हो भने अर्कालाई पीडा दिनु पाप हो भन्ने धर्मको सही मर्मबोध गर्नु नै सच्चा शिवभक्ति हो; जुन सत्यम् शिवम् सुन्दरम्मा रूपान्तरण हुन्छ।

आजको अन्नपूर्ण पोस्टमा डा. साधना प्रतीक्षाको विचार छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।