हेटौंडा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई धन्यवाद व्यक्त गरेका छन् ।

सोमबार राति सामाजिक संजालमा टुईट गर्दै थापाले जेष्ठ नागरिकको हैसियतमा कोरोना विरूद्धको खोप लगाउने अवसर प्राप्त भएको बताउँदै धन्यवाद व्यक्त गरेका हुन्  ।

अध्यक्ष थापाले विश्वका करिव एक सय देशले अझै खोप लगाउन शुरूनै नगरेको अवस्थामा नेपालमा जनस्तरमा खोप लगाउने कार्य हुनु निसन्देह खुसीको विषय भएको बताएका छन् ।  उनले यस कार्यको लागि प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई धेरै धन्यवाद व्यक्त गरेका हुन् ।

उनले भनेका छन्,‘जेष्ठ नागरिकको हैसियतमा आज कोरोना विरूद्धको खोप लगाउने अवसर प्राप्त भयो।बिश्वका करिव १०० देशले अझै खोप लगाउन शुरूनै नगरेको अवस्थामा नेपालमा जनस्तरमा खोप लगाउने कार्य हुनु निसन्देह खुसीको विषय हो।यस कार्यका निमित्त सहर्ष @kpsharmaoli नेतृत्वको सरकारलाई धेरै धेरै धन्यवाद।’

सरकारले फागुन २३ गते (आईतबार) बाट देशभर जेष्ठ नागरिलाई कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ । ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई १० दिनसम्म खोप लगाइनेछ । ११ औँ दिनदेखि ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको छ ।

यसअघि माघ १४ गतेदेखि पहिलो चरणमा अग्रपंतिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्था कर्मचारी, पत्रकारलगायतलाई खोप दिइएको थियो ।

नेपालमा अक्स्फोर्ड–एस्ट्राजेनेकाले विकास गरेको र भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड खोप प्रयोग भइरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।