एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई चालकले जिउँदै पुरिदिएका छन् ।

त्रिपुरासुन्दरी १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।

काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले एक्स्काभेटरले मान्छे पुर्‍यो भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए । त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । पछि तिनै मजदुरले खनेर कुमालको शव झिकेका थिए । शव घोप्टो परेको अवस्थामा भेटिएको थियो ।

टाउकोमा ठूलो घाउ र रगत पनि देखिएको छ, सल्यानटारस्थित इलाका प्रहरी कार्यालयका सब इन्स्पेक्टर भानुभक्त आचार्यले भने । शव परीक्षणका लागि स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनापछि उत्तेजित भीडले हरितारा कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको उक्त एक्स्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो । आगजनीबाट एक्स्काभेटर क्षतिग्रस्त भएको छ । चालकलाई तत्काल पक्राउ गरी कानुनसम्मत कारवाही हुनुपर्ने स्थानीयको माग छ । कान्तिपुर दैनिकबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।