नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन्। संसदमा आवश्यक परे त्यो देखाउन आफू तयारी अवस्थामा रहेको भट्टराईको भनाइ छ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको जिकिर गरेका हुन्। ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ’ भट्टराईले भने, ‘आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं। उहाँको पक्षमा सयभन्दा बढी सांसद छन्।’

प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरु पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाइ छ। सर्वोच्च अदालतले पुस ११ गते प्रतिनिधिसभा पुनस्र्थापनाको फैसलालाई आफूहरुले सम्मान गर्ने पनि उनले सुनाए। उनले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिस गरेको प्रष्ट पारे।

संसद प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले त्यहीँ प्रतिवाद गर्ने पनि भट्टराईको भनाइ छ। उनले आफूहरुले प्रचण्ड र माधवकुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि जनाए।

उनले प्रचण्ड र नेपाललाई पनि अहिले पनि सच्चिने ठाउँ रहेको सुनाए। तर, त्यसको लागि प्रचण्डले पार्टी कमिटी बैठकमा पेश गरेको १९ पृष्ठ लामो आरोपपत्र फिर्ता गर्नुपर्ने शर्त राखेका छन्। उक्त आरोपपत्र फिर्ता, संसदको पूरा अवधि नै केपी ओली प्रधानमन्त्री र अर्को महाधिवेशनसम्म अध्यक्ष स्वीकार गर्नुपर्ने उनको भनाइ छ।

संसदको अधिवेशन अगाडि नै संसदीय दलको बैठक बस्ने उनले जानकारी दिए। उक्त बैठकमा सहभागी हुनको लागि दाहाल-नेपाललाई पनि उनले आग्रह गरे। तत्काल नआए पनि केही नगर्ने उनले जनाए।
उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संस्थागत रुपमा प्रधानमन्त्रीको राजीनामा नमागेको पनि जिकिर गरे। उनले पहिला कसको कित्तामा उभिने भनेर कांग्रेसले कित्ता क्लियर गर्नुपर्ने पनि धारणा राखे।

निर्वाचन आयोगले नेकपाको आधिकारिकताको सवालमा आफूहरुलाई नै आधिकारिकता दिने पनि उनले विश्वास दिलाए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।