भारतीय उद्योगपती मुकेश अम्बानीको मुम्बईस्थित निजी निवास एन्टिलिया बाहिर बिहीबार कार बम भेटिएको छ । यो सँगै रिलायन्स इन्डष्ट्रिजका अध्यक्ष समेत रहेका अम्बानीको ज्यान जोखिममा रहेको आशंका गरिएको छ । कारमा बम भेटिएको घटनाको अनुसन्धानमा मुम्बई प्रहरीको अपराध महाशाखा जुटेको छ । अम्बानी निवास एन्टिलिया बाहिर बम सहित भेटिएको संदिग्ध कारमा एउटा चिठ्ठी पनि फेला परेको छ ।

बिभिन्न सञ्चारमाध्यमले प्रसारित गरेको समाचार अनुसार, कम्प्युटरबाट प्रिण्ट गरिएको मुम्बई ईण्डियन्स उल्लेख चिठ्ठीमा, ‘मुकेश दाइ, निता भाउजु, यो त ट्रेलर मात्रै थियो, पूरा बन्दोबस्त मिलिसक्यो । परिवारलाई उडाउने बन्दोबस्त भइसक्यो । सम्हालिएर बस्नुहोस् । शुभरात्री ।’ उल्लेख गरिएको बताईएको छ । यसबारेमा प्रहरीले भने आधिकारिक जानकारी दिएको छैन ।

कारमा बम भेटिएको यो घटनाको अनुसन्धानका लागि प्रहरीले १० वटा समुह बनाएर अनुसन्धान कार्य अगाडि बढाएको बताईएको छ । अनुसन्धानको क्रममा कारमा २० वटा नम्बर प्लेट भेटिएको छ । थुप्रै नम्बर यस्ता छन्, जुन मुकेश अम्बानीका कर्मचारीद्वारा प्रयोग गरिने कारसँग मेल खान्छन् । प्रहरीका अनुसार नम्बर प्लेटबाट अन्दाज लगाउन सकिन्छ कि संदिग्धले मुकेश अम्बानीको कार्केड पिछा गरेको हुनसक्छ नभए कारको नम्बर म्याच गर्न सहज छैन ।

बम भेटिएको घटना लगत्तै मुम्बई प्रहरीले अम्बानी निवास वरिपरिको क्षेत्रमा सुरक्षा कडा बनाएको छ । हुनत यसअघि नै अम्बानीले जेडप्लस सुरक्षा लिंदै आएका थिए । सरकारले उनको सुरक्षको जिम्मेवारी सेन्ट्रल रिजर्भ पुलिस फोर्सलाई सुम्पिएको छ । यसबाहेक मुकेश अम्बानीकी श्रीमती निता अम्बानीलाई वाई श्रेणीको सुरक्षा प्रदान गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।