हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी फागुन २७ गतेदेखि स्थानीय तह शहिद स्मृति मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तेस्रो संस्करण आयोजना हुने भएको छ ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका चर्चित क्लब सहित १० टिमको सहभागिता रहने आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जनाएको छ । प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नंबर १० स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा हुनेछ । प्रतियोगिताको लागि मकवानपुरका १० स्थानीय तहले ६५ लाख रुपैँया सहयोग गरेका छन् भने प्रदेश खेलकुद परिषदले पनि ५ लाख सहयोग गरेको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका ६ वटा र मोफसलका ४ वटा क्लबहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद १० लाख र ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडिले नगद ५० हजार रुपैयाँ, विद्यागत उत्कष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ र म्यान अफ दि म्याच हने खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । कुल ९४ लाख ४० हजार ५ सय रुपैयाँको लागतमा संचालन हुने उक्त प्रतियोगितमा मुख्य प्रायोजकबाट ७० लाख रुपैयाँ, टिकटबाट १४ लाख ५० हजार रुपैयाँ तथा अन्य सहयोगबाट ९ लाख ९० हजार रुपैयाँ संकलन गर्ने आयोजकले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।