हेटौंडा । नुवाकोटमा जारी बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिता विजेता डाँफे युवा क्लबले विजय सुरुवात गरेको छ ।

जिल्ला लिग विजेता क्लबहरुको सहभागिता रहेको यस प्रदेश लिगमा मकवानपुरको डाँफे क्लबले काभ्रेलाई ३–१ गोल अन्तरले हराउँदै विजय सुरुवात गरेको हो ।

डाँफेको तर्फबाट शनिराज थोकरले २ र राजेश स्याङ्तानले १ गोल गरेका थिए । काभ्रेको तर्फबाट राजेश थापाले एक गोल फर्काएपनि हारबाट जोगाउन सकेनन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन भैरहेको प्रतियोगितामा बागमती प्रदेशको मकवानपुरसहित १० जिल्लाको फुटबल टिमको सहभागिता रहेको छ ।

नुवाकोटको आदर्श बहुमुखी क्याम्पसको खेलमैदान बट्टारमा बिहीबारबाट सुरु भएको प्रतियोगितामा बागमती प्रदेशको भक्तपुर, रसुवा र रामेछाप बाहेकका १० जिल्लाले सहभागिता जनाएको छ ।

फागुन १४ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।