चितवन । मदन भण्डारी फाउन्डेसनको आयोजनामा चितवनमा सुशासन र समृद्धिका लागि संचार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै फाउन्डेसनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीका सिद्धान्त अनुसार राजनीति अगाडि बढेको बताए । उनले मदन भण्डारी फाउन्डेसन पार्टीको भन्दा पनि स्वायत्त संस्था भएको बताए । जननेता भण्डारीको नेपालको राजनीति क्षेत्रमा महत्त्वपूर्ण मार्गनिर्देशन रहेको उनले बताए ।

मुख्यमन्त्री पौडेलले फाउन्डेसनलाई सफल नेतृत्व प्रदान गरि जनता माझ लैजानुपर्ने आवश्यकता रहेको बताए । जनताको बहुदलीय जनवादका १४ वटा सिद्धान्तलाई सबैले पछ्याउँदै जानुपर्ने आवश्यकता रहेको प्रष्ट पारे । फाउन्डेसनको जगमा उभिएर धेरै कहाँ कहाँ पुगेको भन्दै उनीहरु अहिले स्वार्थमा लागेको उनले बताए । उनले विभिन्न विकासका कामहरू फाउन्डेसनमार्फत गर्न सकिने पनि उनले बताए । सूचना र प्रविधिको युग भएका कारण पनि सुशासन र समृद्धिमा सञ्चारको योगदान हुने उनको भनाई थियो ।

फाउन्डेसनका केन्द्रिय सचिव पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका नेकपा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एवम् फाउन्डेसनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी  एवम् सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रामशरण प्याकुरेल र फाउन्डेसनका बागमती प्रदेश अध्यक्ष दीपक निरौलाले सहजीकरण गरेका थिए ।

यसैगरी फाउन्डेसनको आयोजनामा भोलिदेखी ५ दिने पत्रकारीता तालिम सुरु हुनेभएको छ । तालिममा चितवन र मकवानपुरका गरि ३५ जना सहभागी हुने फाउन्डेसनका प्रदेश अध्यक्ष निरौलाले जानकारी दिए । यसअघि प्रदेशका अन्य ११ वटा जिल्लामा पत्रकारिता तालिम सम्पन्न भैसकेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।