लण्डन  । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेका ह्यारी दम्पति अब दरबार नफर्किने भएका हुन् । गतबर्ष उनीहरुले दरबारको भूमिकाबाट अलग्गिने घोषणा गरेका थिए ।शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेकी हुन् ।

बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ । महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गरेकी छन् ।

राजपरिवारको सदस्यका रूपमा उनीहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ । गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालहरूमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए ।

उनीहरू अहिले सामाजिक सञ्जालहरुबाट पनि टाढा रहेका छन् । सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण ह्यारी र मेघनले ट्विटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा आफूहरू प्रस्तुत नहुने निर्णय गरेको टाइम्स अफ लन्डनले लेखेको थियो । दुवै जनाले सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने संकेत देखिएको छैन ।

हलिउड अभिनेत्री मेघनसँगको प्रेम सम्वन्धलाई ह्यारीले बैवाहिक जीवनमा परिणत गरेका हुन् । उनीहरुका अहिले एक छोरा छन् ।  एएफपी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।