आँखा नदेख्ने ७७ वर्षीया कान्छीमाया घलानलाई अस्पताल लैजान सवारी साधन सम्म बोक्दै विर बहादुर भोम्जन

हेटौंडा । पूर्वी मकवानपुर बकैयाकी ७७ वर्षीया कान्छी माया घलानले पुनः आँखा देख्न पाउने भएकी छन् । बकैया-१ धावीडाँडा घर भएकी घलान करिब ८ महिना देखि आँखा सम्बन्धी रोग (मोतीविन्दु) बाट पीडित रहेकी थिईन् ।

स्थानीय छिमेकी विर बहादुर भोम्जनले घलानको आँखाको उपचारको लागि पहल गरेका हुन् । भोम्जनले गएको हप्ता घलानको परिवार संग सल्लाह गरेर आज बर्दिवास आँखा अस्पताल प्रालिमा उपचारको लागि पुर्याएका थिए । उनले आज डाक्टरको सल्लाह अनुसार आउँदो शनिबार घलानको दाहिने आँखाको अप्रेसन हुने बताए ।

उनि भन्छन्,“गएको असारबाट आखाँको समस्या भएकी छिमेकी आमाले पछिल्लो ३ महिना यता आँखा देख्न छाड्नु भएको थाहा पाए । हिडडुल गर्न समेत समस्यामा पर्नु भएको आमाको पिडालाई महसुस गर्दै आमाको परिवार संग सल्लाह गरेर आज अस्पताल ल्यायौ । सामान्य उपचारपछि डाक्टरको अनुसार आमाको दाहिने आँखाको अप्रेसन पछि आँखा देख्ने सम्भावना धेरै रहेको बताएपछि अप्रेसन गर्न तयार भएका छौ । अप्रेसन शनिबार हुँदैछ। आफ्नै छिमेकी आमाले पुनः आँखा देख्न पाउँदै हुनुहुन्छ धेरै खुशी छौ ”

उनले घलानको आँखाको अप्रेसन अस्पालले निःशुल्क गर्ने जानकारी प्राप्त भएको जानकारी दिए । उनले घलानको ७ जना परिवार सदस्य रहेकोमा घलानको भने नेपाली नागरिकता नभएको बताए ।

उनि भन्छन्,“आमाको परिवारका अन्य सदस्यहरुको नागरिकता छ,उनिहरुले आफन्तबाट नागरिकता बनाए । तर आमाको नागरिकता नहुँदा सरकारबाट वृद्धवृद्धाहरुलाई प्राप्त हुने सेवासुविधाबाट आमा बञ्चित हुनुहुन्छ । वडामा करिब एक दर्जनको वृद्धवृद्धा आमाबुवाहरु नेपाली नागरिकता विहिन हुनुहुन्छ ।”

उनले स्थानीय सरकारले गाउँटोलमा नागरिकता बिहिन वृद्धवृद्धा नागरिकहरुको पहिचान गर्नुपर्ने र नागरिकताको लागि पहल गर्नुपर्ने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।