नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुट्नुमा दुवै अध्यक्षको बराबरी दोष रहेको बताएका छन् ।

उनले पार्टीको यस्तो अवस्थामा आउनुमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै बराबरी दोषी रहेको बताएका हुन् ।

वुधबार नेकपा राष्ट्रिय एकता अभियानको घोषणा कार्यक्रमको आयोजना गर्दै उनले वैचारिक र राजनीतिक रुपमा पार्टी फुटिसके पनि कानुनी रुपमा भने नफुटेको बताएका छन् । एकता अभियानको मार्फत पार्टी एक भएरै छाड्ने गौतमले दावी पनि गरे ।

‘एउटाले अविश्वासको प्रस्ताव राखेर प्रधानमन्त्रीलाई हटाउने र विकल्पको प्रधानमन्त्री बन्ने साथै अर्काले मैले प्रतिनिधिसभा भंग गरिदिन्छु भन्ने गर्दा अहिलेको अवस्था आयो’ गौतमले भने ।

त्यस्तै, गौतमले नेकपाका दुई फकर पक्ष बनेका ओली समूह र प्रचण्ड माधव समूहले निर्वाचनबारे, निर्वाचनमा हुने परिणामबारे जे जे दावी गरे पनि विश्वास गर्न नसकिने भएको बताएका छन् ।

गौतमले अघिल्लो निर्वाचनको हिसाब गर्दै ४३ लाख मत आएको पनि सुनाए । त्यसबेला काँग्रेसले ३० लाख मत ल्याएको भन्दै अहिलेको फुटकै अवस्थामा निर्वाचन हुँदा नेकपा कमजोर बन्ने उनको संकेत थियो ।

‘अहिलेसम्म ५,७ लाख मतदाता बढे होलान् । दुईतर्फ भोट बाँडिदा २१–२१ लाख हुन्छ । २२ लाख मात्रै अर्को पार्टीले मत प्राप्त गर्यो भने हामीलाई पछार्छ’, गौतमले भने ।

उपाध्यक्ष गौतमले पार्टी विभाजनले नेकपाको पराजित हुने र अर्कै पार्टीले सरकार बनाउने स्थिति आउने बताउँदै पार्टी एकतामा जोड दिनुपर्ने जिकिर गरे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।