प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा लिग २ क्लब चेल्टेनहम टाउनमाथि पुनरागमन जीत हासिल गर्दै सिटी अघिल्लो चरणमा पुगेको हो । सिटीले एक गोलले पछि परेको अवस्थामा अन्तिम १० मिनेटमा ३ गोल गरेपछि चेल्टेनहममाथि उसकै मैदानमा ३–१ को पूनरागमन जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको हो ।

सिटीको पूनरागमन जितमा फिल फोडेन, गाब्रियल जेसस र फेरान टोरेसले गोल गरे । घरेलु टोलीका एल्फी मेको गोल सान्त्वना बन्यो । चेल्टेनहममा शनिबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५९औं मिनेटमा एल्फी मेले जर्जको पासमा गोल गर्दै घरेलु टालीलाई १–० ले अघि बढाए । बलियो सिटीसामु चेल्टेनहमले उक्त अग्रतालाई जोगाउन सकेन । ८१औं मिनेटमा जोओ क्यान्सेलोको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

८४औं मिनेटमा जेससले फर्नाडिन्होको पासमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ९०औं मिनेटमा इल्केए गुन्डोगानको पासमा फेरान टोरेसले गोल गर्दै सिटीलाई जित दिलाए । अब सिटीले क्वाटरफाइनल प्रवेशका लागि स्वान्सी सिटीको सामना गर्नेछ । प्रि–क्वाटरफाइनलका खेल ११ फेब्रुअरीमा हुनेछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।