विराटनगर ।  मोरङको पथरीशनिश्चरे नगरपालिका–१० जिरी खिस्तीका सन्दीप भण्डारीको हत्या भएको भन्दै आफन्तले किटानी जाहेरी दिए पनि आरोपी पक्राउ परेका छैनन्। १९ वर्षीय भण्डारी हत्याका आरोपीको अनुसन्धानमा प्रहरी गम्भीर नबनेको आफन्तको आरोप छ।

भण्डारीको शव गत पुस १४ गते पथरीशनिश्चरे घर भएका युवराज बाँस्कोटाको घरमा फेला परेको थियो। भण्डारी पुस १३ गते नेपाल कम्युनिस्ट पार्टी (ओली समूह)का केन्द्रीय सदस्य रहेका बाँस्कोटाको घरमा सुत्न जाने भन्दै गएका थिए। मृतकको शरीरमा नीलडाम र चोट देखिएको सन्दीपकी आमा राधिका भण्डारीले बताइन्।

घटनाबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘छोराको मृत्यु भएको यतिका दिन भयो, अहिलेसम्म प्रहरीले आरोपीलाई ल्याएर अनुसन्धान गरेको छैन। मेरो छोराको मृत्यु नभएर हत्या भएको हो।’ हत्याको किटानी जाहेरी दिएको एक साता भइसकेको भण्डारीले बताइन्। राजनीतिक शक्तिको प्रभावमा परेर प्रहरीले आरोपीको संरक्षण गरेको आफन्तको आरोप छ।

मृतककी आमा राधिकाले छोराको हत्या आरोप लगाउँदै बाँस्कोटाविरुद्ध इलाका प्रहरी कार्यालय पथरीमा किटानी जाहेरी दिएकी थिइन्। छोराको मृत्यु स्वाभाविक नभई हत्या भएको र प्रहरी घटनाबारे गम्भीर नभएको मृतकका बुवा गोपाल भण्डारीले बताए।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।