राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरिएको छ । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो । विभागले आइतबार पत्रकार सम्मेलन आयोजना गरी करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको बताएको छ । विभागले करिब ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा भर्ना लन लागेको जानकारीसमेत गराएको छ । करारका जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीको प्रयोग गरी जनणना गरिने विभागको भनाइ छ ।

११ चैत्रभित्र अनलाइन दरखास्त भर्न सकिने तथा अनलाइनको पहुँच नहुनेहरूका लागि ५ चैत्रदेखि ११ चैत्रसम्म प्रदेश तथा जिल्ला जनगणना कार्यक्रममा दरखास्त फारम भरी बुझाउन सकिने व्यवस्था गरिएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । जनगणना विभिन्न प्रविधि अपनाइ गरिने उनको भनाइ छ । मानिसको जनगणनाको अलावा व्यावसायिक प्रयोजनका लागि पालिएका पशुपन्छीको समेत जनगणना गरिने उनले बताए ।

अनलाइन दरखास्त केन्द्रीय तथ्यांक विभागको वेवसाइट अर्न्तगतको सवडोमेन www.censushrms.cbs.gov.np तथा केन्द्रीय तथ्यांक विभागको वेवसाइट www.cbs.gov.np मा गएर भर्न सकिनेछ । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले गणक तथा सुपरिवेक्षक स्थानीय तहकै जनशक्तिबाट गर्ने तथा स्थानीय तहमै तालिमको व्यवस्था गरिने बताए । अघिल्लो जनगणनामा भन्दा यसपटक आठवटा बढी आधारभूत प्रश्नहरू राखिएको उनको भनाइ छ ।

राष्ट्रिय जनगणना २०७८, नेपालको बाह्रौँ जनगणना हो । नेपालमा १९६८ सालदेखि जनगणना प्रारम्भ भएको हो । बाह्रौँ जनगणना २०७८ जेठदेखि असारसम्म सञ्चालन हुने पनि विभागले बताएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।