file photo

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले दुई गैँडा मरेका छन् । निकुञ्जको पुरानो पदमपुरस्थित अर्ना रहेको क्षेत्रमा एउटा बच्चा र डुमरियामा अर्को भाले गैँडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्ना राखिएको क्षेत्रनजिकै बुधबार एक वर्ष छ महिनाको भाले बच्चा मृतावस्थामा फेला परेको हो । सो बच्चाको शरीरमा कुनै घाउचोट नभएकाले चिसोका कारण मरेको अनुमान गरिएको उनले जानकारी दिए । चिकित्सकले मृत्युको कारण खोजी गरिरहेको निकुञ्जले जनाएको छ । गत महिना नवलपरासी क्षेत्रमा यस्तै ढंगबाट तीन महिनाको गैँडाको बच्चा मृतावस्थामा फेला परेको थियो ।

यस्तै, बिहीबार दिउँसो निकुञ्जको बेलसहरघाट क्षेत्रमा एउटा गैँडा मृतावस्थामा फेला परेको छ । तीस वर्षको भाले गैँडा प्राकृतिक कारणले मरेको अधिकारीले जानकारी दिए । मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।

साउनयता निकुञ्जमा यससँगै २२ गैँडा मरेका छन् । तीमध्ये चार चोरी सिकारीले मारेको निकुञ्जले जनाएको छ । सिकारी सक्रिय भएपछि पछिल्लो समय निकुञ्जमा गस्ती बढाइएको छ । गत वर्ष २६ गैँडा प्राकृतिक कारणले मरेका थिए । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।