काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्वाचन संवेदनशीलतालाई ध्यान दिँदै सुरक्षा योजना बनाएर अघि बढ्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको कार्ययोजना, २०७७ तथा चालू आर्थिक वर्षका लागि प्रहरी महानिरीक्षकसँग प्रदेश प्रहरी कार्यालयका प्रमुखले गरेका कार्यसम्पादन सम्झौताको अर्धवार्षिक कार्य प्रगतिको समीक्षामा उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रहरी महानिरीक्षक थापाले भर्चुअल विधिबाट भएको उक्त कार्यक्रममा भने, “अहिलेको अवस्थामा अत्यधिक संयमताका साथ सुरक्षा योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता छ ।” प्रहरी महानिरीक्षक थापाले प्रहरी प्रधान कार्यालयले स्पष्ट मार्ग निर्देशनसहित सङ्गठनलाई एउटा निश्चित दिशा दिन कार्ययोजना ल्याएको चर्चा गर्दै यसलाई सफल पार्न सबैको सामूहिक प्रयास र कटिबद्धता आवश्यक रहेको बताए । नेपाल सरकारद्वारा घोषित निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर राख्दै पूर्ण सफल बनाउन तोकिएको जिम्मेवारीलाई मनन गरी गम्भीरतापूर्वक लाग्न प्रदेश प्रहरी प्रमुखसँग आग्रह गरे

कार्यक्रममा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखले प्रदेशको शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापनलगायत कार्य प्रगतिबारे भर्चुअल माध्यामबाट जानकारी गराएका थिए ।

प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले नेपाल प्रहरीको कार्ययोजना, २०७७, कार्य सम्पादन सम्झौता र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना, २०७७ को अर्धवार्षिक कार्य प्रगतिको समीक्षा गरेका थिए । रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।