काठमाडौं। नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक गृहकार्य सुरू भएको छ। अर्थ, उद्‍योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमै रासायनिक मल कारखाना स्थापनाको गृहकार्य अगाडि बढाएका हुन्।

अर्थमन्त्री विष्णु पौडेल, उद्‍योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री पद्‍यामाकुमारी अर्याल तथा तीनैवटा मन्त्रालयका सचिवसहित अर्थ मन्त्रालयमा बसेको बैठकले यससम्बन्धी छलफल अगाडि बढाएको हो।

बैठकमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र सम्भावित लागतबारे छलफल भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। छलफलबाट विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्याँस, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिडमध्ये कुनै एक नेपालमा उपयुक्त हुने निष्कर्ष निस्किएको मन्त्रालयको भनाइ छ।

अर्थमन्त्री पौडेलले थप छलफल गरी नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी प्रविधि, लगानीको विधि र लागतसमेतको प्रस्ताव तयार गर्ने बताए। गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।