हेटौंडा । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले बालबालिकाका क्षेत्रमा गरिने लगानीले भविष्यमा फलदायी सावित हुने बताएका छन् । बालमैत्री गाउँपालिका घोषणाको तयारीमा रहेको जिल्लाको बकैया गाउँपालिकामा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्दै प्रमुख खुलालले आजका बालबालिकानै भोलिका देशका कर्णधार भएकाले बालबालिकाको क्षेत्रमा लगानी गर्न सुझाव दिए ।

प्रमुख खुलालले समाज रुपान्तरण नै विकासको मापन भएकाले समाजलाई परिस्कृत बनाउन सक्नुपर्ने बताए । उनले भौतिक उपलब्धीले मात्र विकासको मापन गर्न नहुने भन्दै समाजिक क्षेत्रमा समेत यथोचित बजेट व्यवस्थापन गर्न आग्रह गरे । समाजिक क्षेत्रमा गरिएका कामले समाज परिर्वतन गर्न सकिने उनको भनाई थियो । उनले बालमैत्री घोषणा गर्नु ठुलो कुरा नभएको भन्दै यसको निरन्तरताको लागि योजनाबद्ध रुपमा काम अगाडी बढाउन समेत सुझाव दिए ।

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनीले बालमैत्री स्थानीय तह घोषणाले सामुदायिक विकासमा टेवा पुग्ने बताईन् । उनले बालमैत्री स्थानीय तह घोषणाका सुचकहरुको दिगोपनामा ध्यान दिन सुझाव दिईन् । समन्वय अधिकारी आन्नदराज पोखरेलले बालमैत्रीका सुचकहरुको गुणस्तरीयता, स्थानीयकरण र दिगो कार्यान्वयनको पक्षमा ध्यान दिन सुझाव दिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर खनालले बालमैत्री स्थानीय शासन र यसका चरणहरुका बोरमा, उपाध्यक्ष सरला बोलखेले बालमैत्री स्थानीय शासन स्थापनाका लागि बिगत ३ वर्षमा गरिएको काम, प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बालमैत्री स्थानीय शासनका सुचक र बालमैत्री सहजकर्ता फणिकरमण प्याकुरेलले बालमैत्री स्थानीय तह घोषणाका लागि हालसम्म गरिएका कृयाकलाप, तथ्याङ्किय अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो अवसरमा सम्पूर्ण गाउँपालिकाले बालमैत्री घोषणाका चरणहरु पार गरेको र यसको निरन्तरताका लागि योजनाबद्ध रुपमा अगाडी बढेको बताईएको छ । कार्यक्रममा जिसस सदस्य देवराज रिमाल, शाखा अधिकृत भीमलाल मर्हजन, गाउँपालिकाका १२ वटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पालिका स्तरीय बाल सञ्जाल समितिका अध्यक्ष सरस्वती जिम्बा, बालअधिकार समितिका संयोजक झलक बहादुर थिङ, गाउँपालिकाका वाल क्लब, बालसञ्जालका पदाधिकारीलगायत कार्यालयका कर्मचारीहरुको सहभागिता थियो । घोषणाको चरणमा रहेको गाउँपालिकाका हरेक वडामा जिससबाट अनुगमन गरेर अनुमति दिने बताईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।