
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको बताएका छन्। ओलीले निर्वाचन आयोगलाई पेश गरेको जवाफ पत्रमा नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो वरियताको अध्यक्ष कायमै रहेको बताएका हुन्।
निर्वाचन आयोगले गत बिहीबार नेकपाका दुवै पक्ष (प्रचण्ड–नेपाल समूह र ओली समूह) लाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको थियो। ओलीले पार्टीका दुबै अध्यक्ष रहेको अवस्थामा नेता माधव कुमार नेपाललाई अध्यक्ष भन्नु औचित्यहीन भएको बताएका छन्। उनले पत्रमा नेपाललाई अध्यक्ष बनाइएको भन्ने दाहाल–नेपालको दाबीको कुनै औचित्य र वैधानिकता नभएको भनेका छन्।
ओलीको हस्ताक्षरमा आयोगलाई लेखिएको पत्रमा भनिएको छ, ‘नेकपाको प्रथम अध्यक्ष म स्वयं रहेको छु। द्वितीय अध्यक्षमा पुष्पकमल दाहाल रहनु भएको छ। यसरी दुवै अध्यक्ष रहेको अवस्थामा पद रिक्त भएको र सो पदमा माधवकुमार नेपाल नियुक्त भएको भनी निजले समेत हस्ताक्षर गरी दायर गरेको निवेदन हकदैयाविहीन र औचित्यहीन छ।’
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई खेमामा बाँडिएको छ। ओलीले नेतृत्व गरेको खेमाले आफू आधिकारिक पार्टी भएको दाबी गरिरहेको छ भने अर्को प्रचण्ड–नेपाल समूहले नेतृत्व गरिरहेको खेमाले पनि आफूलाई आधिकारिक पार्टी दाबी गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्