नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले प्रतिनिधिसभा विघटनलाई गणतन्त्र, सङ्घीयता तथा धर्मनिरपेक्षताविरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फाँसीवादी कदम भएको बताएको छ ।

मोहन वैध ‘किरण’ नेतृत्वको पार्टीको सम्पन्न केन्द्रीय समिति बैठकले नेपाली राजनीतिक क्षितिजमा तीन सम्भावना वा परिदृष्य देखापरेको विश्लेषण गरेको छ । जसमा पहिलो, संसदीय मध्यावधि निर्वाचन वा पुनस्र्थापना गरिएका दुवै अवस्थामा विद्यमान संकटको समाधान हुन नसक्ने उनीहरुको ठहर छ ।

दोस्रो, देशीय प्रतिक्रियावादी शक्तिहरुबीचका अन्तरविरोध तथा वैदेशिक चलखेल बढ्दै गएमा वा अन्य कुनै कारणले मध्यावधि चुनाव हुन नसकेमा देश पुनरुत्थानवाद वा झनै निरंकुशतावादको बाटोमा जान सक्छ ।

तेस्रो, वामपन्थी, देशभक्त तथा जनवादी शक्तिहरु एकतावद्ध भई संयुक्त सङ्घर्षलाई प्रभावकारी ढङ्गले विकसित तुल्याउन सकेमा देश अग्रगामी निकास तर्फ अगाडि बढ्न सक्ने केन्द्रीय समितिले निष्कर्ष निकालेको छ ।

क्रान्तिकारी माओवादीले देशभक्त, जनवादी तथा वामपन्थी शक्ति, समूह तथा व्यक्तित्वहरुका बीच बलियो संयुक्त मोर्चा तथा कार्यगत एकता गरी सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन आह्वान समेत गरेको छ ।

बैठकले नेपालको कृषि क्षेत्रमा विदेशी पुँजी लगानी गर्न दिने ओली सरकारको हालैको निर्णयले नेपालका आम साना किसानको जीवन निर्वाहको बाटो नै समाप्त गरिदिने र नेपाली कृषिजन्य व्यवशायलाई समेत विस्थापित गर्ने हुनाले यो निर्णय जनघाती मात्र होइन राष्ट्रघाती समेत भएको ठहर गरी त्यसको तुरुन्त खारेजीको माग गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।