वायु प्रदूषणलाई धूमपानभन्दा घातक मानिन्छ। यसबाट श्वासप्रश्वास, क्यान्सर एवं मुटुजन्य समस्याको जोखिम हुने चिकित्सक बताउँछन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका सहप्राध्यापक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. नीरज बम वायु प्रदूषण धूमपानभन्दा हानिकारक रहेको बताउँछन्।

सोमबारदेखि मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको वातावरण विभागले जनाएको छ। विभागले बालबालिका, वृृद्धवृद्धा एवं दमखोकीजस्ता स्वासप्रश्वाससम्बन्धि र मुटुका बिरामीलाई घरबाहिर ननिस्किन अपिल गरेको छ। काठमाडौं उपत्यकाबाहेक तराई क्षेत्रका शहरहरु नेपालगन्ज र विराटनगरमा पनि वायु प्रदूषणको मात्रा उच्च पाइएको छ। काठमाडौंवासीले आँखा पोल्ने गरेको गुनासो गरेको चिकित्सक बताउँछन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले १० मृतकमध्ये एक जनाको वायु प्रदूषणबाट ज्यान जाने गरेको जनाएको छ। कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा युद्धसहित सबै खाले हिंसाभन्दा प्रदूषण १० गुणा बढी घातक भएको दाबी गरिएको छ। वायु प्रदूषणका कारण हुने मृत्युको संख्या धूमपानबाट हुनेभन्दा धेरै भएको उक्त अध्ययनमा उल्लेख छ।

‘काठमाडौं उपत्यकामा पुराना सवारी साधन धूवाँको मुस्लो छाड्दै गुडिरहेका छन्। सडक भत्काउने तर समयमा नबनाउने गर्दा धुलोका कणहरु बढेका छन्’, डा. बम भन्छन्, ‘जाडोमा आद्र्रता (ह्युमिडिटी) घट्ने हुँदा हावा सुख्खा हुन पुग्छ। यस्तो बेला विभिन्न भाइरस र ब्याक्टेरियाका लागि अनुकूल समय मानिन्छ।’

इन्फ्लुएन्जा, राइनो, एडिनो, रेस्पिरेटरि सेन्सियल (आरएसभी) लगायत भाइरसका लागि अहिलेको वायु प्रदूषण अनुकूल रहेको उनी बताउँछन्। यसले दम, क्रोनिक अब्सट्रक्टिभ ब्रोङकाईटिस, एलर्जिक ब्रोङकाईटिस, ब्रोङ्कल आज्मालगायत रोग उत्पन्न गराउने उनको भनाइ छ। ‘विभिन्न भाइरसले एलर्जी र निमोनियाका साथै जटिल प्रकारको स्वासप्रश्वासजन्य समस्यासमेत गराउँछन्’, उनी भन्छन्, ‘फोक्सोको संक्रमण बढाउँछ।’

जाडो समयमा बढेको वायु प्रदूषणले गर्दा धुलो धुवाँका कणहरु टाँसिएर मुख र नाकबाट छिर्ने गर्छन्। यसले श्वासनलीमा एलर्जि गराउने चिकित्सक बताउँछन्। कोभिड १९ पनि श्वासप्रश्वासजन्य भाइरस भएकाले कोरोना संक्रमणको जोखिम पनि उच्च हुन्छ। दिनेश गाैतमले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।