file photo

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन्। प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बसेको बैठकमा उनले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न  महत्वपूर्ण रहेको जानकारी दिएका हुन्। भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले मंसिर ११ र चीनका राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले मंसिर १४ गते नेपालको औपचारिक भ्रमण गरेका थिए।

भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण कोभिड-१९ को संंक्रमणपछि नेपाल र भारतबीच रोकिएका द्विपक्षीय भ्रमणको शुरुआत भएको जनाउँदै मन्त्री ज्ञवालीले भ्रमणमा दुई देशबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरिएको बताए।

भारतले नेपालका भूभाग समेटेर नयाँ नक्शा जारी र लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि तथा नेपालले पनि आफ्ना भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटी हालसालै नयाँ नक्शा जारी गरेपछि दुवै देशबीचको सम्बन्धमा केही चिसोपना आएको थियो।  नेपाल–भारत संयुक्त समितिको बैठक चाँडै हुने र दुवै देशबीचका थाती रहेका विषय उक्त बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिने उनको भनाइ थियो। रासस


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।