
पुल उद्घाटनका लागि जाने क्रममा पक्राउ परेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । रिहाइपछि पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन् ।
कांग्रेस तनहुँका अनुसार पौडेलसहित पक्राउ परेका सबै कांग्रेस कार्यकर्ता रिहा भएका छन् । घटनाको विषयमा छलफलका लागि अहिले तनहुँ कांग्रेसका नेताहरु जिल्ला कार्यालयमा भेला भएका छन् ।
नेता पौडेल व्यास नगरपालिकाले निर्माण गरेको मोटरेबल पुलको उद्घाटन गर्न गृहजिल्ला पुगेका थिए । उनलाई पुल उद्घाटन गर्न दिन नहुने भन्दै नेकपा कार्यकर्ताले प्रदर्शन गरेका थिए । सम्भावित झडपलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
बुधबार दिउँसो निषेधाज्ञाको अवज्ञा गर्दै पौडेल कार्यकर्तासहित पुल उद्घाटनका लागि गएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले आफूलाई गिरफ्तार गरेको भन्दै नेता पौडेल आफैँले फेसबुकमार्फत जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्