file photo

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण उपस्थिती हुन नसकेपछि अर्को बैठक मंसिर २० गते बस्ने गरी स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो।

सल्लाहकार थापाले भन्नुभयो ‘प्रधानमन्त्रीको समय मिलेन, यस बिषयमा उहाँले हिजो नै जानकारी गराउनु भएको थियो, आज उहाँहरु बस्नुभयो, केही बेर बसेर बैठक सकियो ।’

अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव अराजनीतिक, झुठको पुलिन्दा र आरोपपत्र मात्र भएकाले फिर्ता हुनुपर्ने माग राख्दै आउनुभएको छ ।

अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव फिर्ता लिने कुनै संकेत नगर्नु भएपछि त्यसमाथि छलफल हुने नहुने अन्यौल बढेको हो । सचिवालय बैठकमा नेताहरुले छलफल र संवादबाटै सो विवादको निक्र्यौल गर्नुपर्ने सुझाव दिनुभएको छ । कात्तिक २८ गते अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव सचिवालय बैठकमा राख्नुभएको थियो ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले मंसिर १३ गते सो प्रस्तावमा लगाइएको आरोपको खण्डन गर्दै ३८ पृष्ठको ५३ बुँदे प्रस्ताव पेश गर्नुभएको थियो । सो दुवै प्रस्ताव अध्ययनका लागि सचिवालयका सदस्यहरुलाई वितरण गरिएको छ । अध्यक्ष ओलीले अध्यक्ष प्रचण्डलाई आफ्नो प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।