सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृङ्खला दृश्यावलोकनका लागि पर्वतीय उडान (माउन्टेन फ्लाइट) निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायित हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ ।

विशेषगरी, शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान आजदेखि सुरु भएको हो । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले बन्दाबन्दीको करिब आठ महिनापछि पर्वतीय उडान सुरु गरेको हो ।

कोभिड महामारीकाबीच बुद्धले पहिलोपटक पर्वतीय उडान सुरु गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि पर्वतीय उडान सञ्चालन गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिए ।

आज पहिलो उडानमा १८ नेपाली यात्रु थिए । पर्वतीय उडानमा विदेशी तथा नेपाली दुवैको आकर्षण रहे पनि अहिले विदेशी पर्यटकको चहलपहल छैन ।यसअघि बुद्धले अङ्ग्रेजी वर्ष सन् २०२० को मार्च १७ मा अन्तिम पर्वतीय उडान सुरु गरेको थियो । त्यसपछि नेपालमा कोभिड नियन्त्रणका लागि देशभर लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाई उडान खुलेको थिएन । असोज ५ देखि आन्तरिक उडान सञ्चालनमा आएको थियो भने भदौ १६ बाट अन्तरराष्ट्रिय नियमित उडान सुरु भएको थियो ।

आन्तरिक पर्यटकलाई आकर्षण गर्ने गरी बुद्धले आकर्षक छुट तथा अफरसहित पर्वतीय उडान सञ्चालन गर्ने निर्देशक जोशीले बताए । उनले हरेक शनिबार पर्वतीय उडान सञ्चालन गरिनेछ । पर्वतीय उडानका यात्रुले एक टिकट खरिद गर्दा थप एक टिकट निःशुल्कको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

शरद ऋतु दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । अहिले अवस्था सामान्य हुन्थ्यो भने पर्वतीय उडानमा भिड लाग्ने थियो । तर, परिस्थिति प्रतिकूल छ । पर्वतीय उडानमा एयरलाइन्सबीच पनि प्रतिस्पर्धा नै चल्ने गरेको थियो । जहाज तथा हेलिकोप्टरले समेत पर्वतीय उडान गर्थे ।

पर्वतीय उडान काठमाडौंबाट आवतजावत गरी एक घण्टाको हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु भई गणेश हिमाल, सगरमाथा हुँदै कञ्चनजङ्घा हिमालनजिक पुगेर पुनः काठमाडौंमा अवतरण हुन्छ ।

पर्वतीय उडानका लागि बन्दाबन्दीअघि नेपाली र भारतीयलाई आठ हजार ८२५ र अन्य मुलुकका नागरिकलाई १९७ अमेरिकी डलर भाडा लाग्ने गरेको थियो । बुद्ध एयर, यती एयरलाइन्स र सिम्रिक एयरलाइन्सले पर्वतीय उडान भर्दै आएका छन् । वायु सेवा सञ्चालक सङ्घका अनुसार आन्तरिक उडानका लागि हाल १० हेलिकोप्टर कम्पनीसहित १९ वटा वायुसेवाप्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।