file photo

काठमाडौं । सरकारले असोज मसान्तसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत ६६ करोड ८७ लाख ४५ हजार पठाइएको बताए पनि स्वास्थ्यकर्मीले भने समयमै भत्ता पाउन सकेका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्म जोखिम भत्ताबापत सो रकम विभिन्न अस्पतालका लागि पठाइएको बताए पनि अस्पतालले समयमै भत्ता उपलब्ध गराउन नसक्दा स्वास्थ्यकर्मी मर्कामा पर्दै आएका हुन् ।

मन्त्रालयले समेत कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालले उपलब्ध नगराएको गुनासो आएको भन्दै त्यस्ता गुनासाको तत्काल सम्बोधन गर्न अस्पताललाई निर्देशन दिएको छ ।

मन्त्रालयले शुक्रबार सबै अस्पताललाई पत्राचार गर्दै तत्काल जोखिम भत्ता उपलब्ध गराएर स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन थप निर्देशन दिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै त्यस्तो निर्देशन दिएको स्पष्ट पारेको छ ।

सरकारले कोभिड—१९ को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ अनुसार जोखिममा रही काम गर्ने सबै जनशक्तिलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो तर सरकारको सो निर्णय कार्यान्वयनमा आउन भने केही ढिलाइ भएको थियो ।

राजधानी दैनिकमा खबर छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।