एजेन्सी । अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्नेलगायतका प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गरिएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिबन्धात्मक व्यवस्थाको घोषणा गरेको हो ।

देशकै सवैभन्दा धेरै जनसंख्या रहेको ठाउँको रूपमा चिनिएको लस एन्जेलसमा आम मानिसलाई भीडभाड गर्न रोक लगाइएको छ । भीडभाड हुने व्यापार व्यवसाय पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ भने अन्य व्यापार व्यवसायका लागि उच्च सतर्कता अपनाउनु पर्ने व्यवस्था गरिएको छ । तीन हप्ताका लागि घरमै सुरक्षित भन्ने नाराका साथ आह्वान गरिएको निर्देशन आगामी सोमबारदेखि लागू हुनेछ । झण्डै एक करोड जनसंख्या रहेको यस क्षेत्रमा थप २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने नयाँ चार हजार ५४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्थानीय प्रशासनले जारी गरेको निर्देशनमा सम्भव भएसम्म घरमै बस्न र घरभन्दा बाहिर निस्कनै परेमा मुख ढाक्ने चिज लगाउन आग्रह गरिएको छ । सार्वजनिक वा व्यक्तिगत रूपमा पनि कुनै घरपरिवारले भीडभाड तथा जमघट गराउन नपाइने कुरा पनि निर्देशनमा उल्लेख गरिएको छ ।

चर्चमा काम गर्ने र विरोध प्रदर्शनमा उत्रिनेहरूलाई भने यो निर्देशन अनिवार्य नगरिएको अधिकारीले जनाएका छन् । संविधानमा उल्लेखित अधिकारको रक्षाका लागि यस्तो व्यवस्था गरिएको उनीहरूको भनाइ छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।