हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरले सञ्चालन गर्न लागेको जेष्ठ पत्रकार पेन्सन कार्यक्रमका लागि आज हेटौंडा उपमहानगरपालिकाकाले दश लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुर साखाका अध्यक्ष हरि हुमागाँईलाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

जेष्ठ पत्रकारका लागि मासिक रुपमा पेन्सन दिनका लागि महासंघले सहयोग गर्न आग्रह गरे अनुसार दश लाख रुपैयाँ आज हस्तान्तरण गरिएको हो । मकवानपुरका पत्रकारको पेन्सन कार्यक्रमका लागि यो पहिलो सहयोग गरिएपनि यसलाई फेरी थप गरिने मेयर महतले बताए । जोखिम मोलेर कुनैपनि बेलामा समाचार संकलन गर्ने पत्रकारका लागि उपमहानगरपालिका सहयोगि बन्नका लागि तयार रहेको उनले बताए । पत्रकारलाई परेका कुनैपनि समस्या समाधान गर्नका लागि स्थानीय सरकार हातेमालो गरेर अगाडी बढ्ने उनले बताए ।

वषौं सम्म पत्रकारिता गरेर अवकास लिएका पत्रकारका लागि पेन्सनको व्यावस्था गर्नका लागि महासंघले कार्यविधि बनाएर कार्यसमितिको बैठकमा छलफल चलाएको छ । कार्यविधिलाई महासंघको साधारणसभाबाट पास गर्ने तयारी पनि गरिएको छ । पत्रकारले जिवनभर उमेर छउन्जेल काम गर्ने, आम नागरिकलाइ परेका हरेक समस्या उजागर गर्दै आएपनि पत्रकारले बुढेसकालमा दैनिक छाक टार्न पनि, परिवार चलाउन समस्या हुने, त्यतीबेला परिवारले पनि तिरस्कार गर्ने जस्ता समस्या हुने भएकाले जेष्ठ पत्रकारलाई पेन्सनको कार्यक्रम ल्याउन लागिएको अध्यक्ष हुमागाईले बताए ।

पत्रकार महासंघको हरेक आग्रहलाई स्थानीय सरकार मध्यमा उपमहानगरपालिका सहयोगि बनेको उनले बताए । पत्रकार महासंघले सञ्चालन गरेको उपचार कोष, पत्रकारको कोरोना र दुर्घटना विमा गर्न, लकडाउनको समयमा समस्यामा परेका पत्रकारका लागि राहतसामाग्री सहयोग गरेको छ । हेटौंडामानै रहेको प्रदेश सरकार र अरु नौ वटा स्थानीय तहबाट खासै सहयोग नभइरहेको समयमा पत्रकारका आग्रहलाई उपमहानगरपालिकाले सहयोग गर्दै आएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।