विश्वका सर्वकालीन महान फुटबल खेलाडी अर्जेन्टिनी डिएगो म्याराडोनाको बुधबार हृदयधातका कारण ६० वर्षको उमेरमा निधन भयो । यी महान् खेलाडीको निधनले अहिले  विश्व जगत शोकमा छ । सबैले उनीप्रति श्रद्धान्जली अपर्ण गरिरहेका छन् । उनको गुण र अवगुणहरुको चर्चा भइरहेको छ । अर्जेन्टिनी सरकारले उनको निधनमा ३ दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

इटालियन क्लब नापोलीका सम्पूर्ण खेलाडीले युरोपा लिग अन्तर्गत गएराति भएको  क्रोएसियन क्लब एचएनके रिजेकाविरुद्धको खेलमा म्याराडोनाको सम्मान स्वरुप उनको जर्सी लगाएर खेलेका थिए । नापोलीको मैदानमा बुधबार देखिनै म्याराडोनाको फोटोअंकित ब्यानर सजाइएको थियो ।

नापोली त्यही टिम हो जसलाई म्याराडोनाले २ सिरि ‘ए’ उपाधि दिलाएका थिए । सन् १९८४ देखि १९९१ सम्म नापोलीमा बिताउँदा म्याराडोनाले १८८ खेलमा ८१ गोल गरेका थिए ।

नापोलीका मालिक उरेलियो डि लोरन्टिसले म्याराडोनाको सम्मान स्वरुप नापोलीको घरेलु मैदान सान पाउलोको नाम परिवर्तन गरेर उनको नाममा राख्नु पर्ने प्रस्ताव राखेका छन् । नेप्पल्सका मेयर लुइगी डि मेगिस्ट्रिसले पनि यो कुरामा सहमति जनाएका छन् । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।