file photo

हेटौंडा/कक्षा १२ को परीक्षा भोलि (मंगलबार) देखि सुरु हुँदै छ । कोरोना भाइरस (कोभिड–१९) का कारण ८ वैशाखका लागि तोकिएको परीक्षा मंगलबारदेखि हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय, हेटौडा, मकवानपुरले पनि परीक्षाको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।

कोरोनाका कारण यो वर्ष परीक्षा होम सेन्टरबाट नै गर्न लागिएको हो । अघिल्लो वर्षहरुमा मकवानपुरमा १२ वटा परीक्षा केन्द्र रहने गरेका थिए भने यो वर्ष कोरोना महामारीलाई ध्यानमा राखि नजिकका विद्यालयहरुलाई समेत परीक्षा केन्द्र बनाई ४१ वटा परीक्षा केन्द्र भएका छन् । यो वर्ष मकवानपुरबाट कक्षा १२ को परिक्षा दिने विद्यार्थीको संख्या ६३६७ जना रहेका राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय, हेटौडाका प्रमुख कृष्ण प्रसाद घिमिरेले खबरब्रेकलाई बताए ।

अघिल्लो बर्षहरुमा तोकिएको परिक्षा केन्द्रबाट परीक्षा दिन पर्ने हुन्थ्यो भने यो बर्ष आफ्नो नजिकको पायक पर्ने परिक्षा केन्द्रहरुबाट समेत परिक्षा दिन सकिने भएको छ । घिमिरेका अनुसार मकवानपुर,चितवन,बारा,पर्सा र रौतहटमा रहेका १५०० सय विद्यार्थीहरले आफ्नो पायकको परिक्षा केन्द्रबाट परिक्षा दिदै छन् । उनी भन्छन ‘हामीले कोरोनाको कहरलाई ख्यालमा राखि नजिकका परिक्षा केन्द्रबाट परिक्षा दिने ब्यवस्था मिलाएका छौ ।’

घिमिरेका अनुसार परिक्षाको सम्पुर्ण तयारी सकिसकेको छ । ‘हामीले जिल्लाभरका ४१ वटै परीक्षा केन्द्रमा सम्पुर्ण सामान पुर्याईसकेका छौ ।’ प्रश्नपत्र भने यो वर्ष परिक्षा केन्द्रमै अनलाइनमार्फत आउने घिमिरेले बताए । कोरोनाको ख्याल गरि सबै स्वास्थ्य मापदण्ड पुरा गरेर परीक्षा संन्चालन हुने घिमिरेले बताए । ‘परीक्षा केन्द्रहरूमा भौतिक दूरी कायम गरी बस्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुनेजस्ता कोभिड सुरक्षण मापदण्ड कडाइपूर्वक पालना गर्नेलगायत परीक्षासम्बन्धी आवश्यक सम्पूर्ण पक्षहरूको व्यवस्थापन गरिएको हुँदा ढक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थी भाईबहिनीहरलाई अनुरोध गर्दछु,’ परीक्षा बोर्ड प्रमुख घिमिरे भन्छन् ।

कस्तो छ स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड ?
कोभिड महामारीका बीच मंगलबारदेखि मुलुकभर कक्षा १२ को परीक्षा हुँदै छ । मकवानपुरमा कोरोनाको संक्रमण कम भएको छैन । यो समयमा संचालन हुन लागेको कक्षा १२ को परीक्षाले कोरोना संक्रमण बढाउने सम्भावना देखिन्छ । त्यसैकारण राष्ट्रिय परीक्षा बोर्डले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पुरा गरेर मात्र परीक्ष लिन निर्देशन दिएको छ । बोर्डका अनुसार प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिने छ । डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएरनभएको अनुगमन गर्ने छ । परीक्षासम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालयलगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ ।

त्यस्तै कार्यविधिमा एउटा परीक्षा हलमा बढीमा २० जना परीक्षार्थी राख्नुपर्ने भनिएको छ । दुई-दुई मिटरको दूरीमा मात्रै परीक्षार्थीलाई राख्नुपर्ने बोर्डले जनाएको छ ।परीक्षार्थी, निरीक्षकलगायत परीक्षामा संलग्न कर्मचारीले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने छ । ‘रुघाखोकी लागेका वा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका परीक्षार्थीलाई छुट्टै कक्षाकोठामा राखेर परीक्षा दिन लगाउने कोरोना पोजिटिभ भएका विद्यार्थीलाई पछि परीक्षा दिने व्यवस्था बोर्डले मिलाउँने बताएको छ ।

डेढ घण्टामा ४० पूर्णाङ्कको परीक्षा

कोरोनाका कारण परीक्षाको पूर्णाङ्क र समय पनि घटाइएको छ । डेढ घण्टाको परीक्षा हुनेछ भने ४० पूर्णाङ्कमा लिखित परीक्षा हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

४० प्रतिशत ११ मा प्राप्त गरेको नम्बर र २० प्रतिशत विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर नतिजा सार्वजनिक गरिने छ । देशभर ४ हजार १ सय ५ वटा केन्द्रमा परीक्षा सञ्चालन हुँदै छ । जसमा ५ सयभन्दा बढी परीक्षार्थी रहेका केन्द्र १ सय १३ वटा छन् । २ सयदेखि ५ सयसम्म परीक्षार्थी हुने केन्द्रको संख्या ३ सय ९७ छ । १ सयदेखि २ सयसम्म विद्यार्थी रहेका परीक्षा केन्द्र ६ सय ९३ वटा छन् । १ सयसम्म परीक्षार्थी रहने परीक्षा केन्द्र १ हजार २१ छन् भने ५० जनासम्म परीक्षार्थी रहेका केन्द्र एक हजार ८ सय ८३ वटा छन् । जम्मा ४ लाख ३३ हजार परीक्षार्थीमा करिब १२ हजार विद्यार्थीले आफूले पढेको भन्दा अन्यत्रको घरपायक परीक्षा केन्द्रबाट परीक्षा दिँदै छन् । जसमा ४ प्रतिशत जतिले मात्र सेन्टर सार्ने फारम भरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।