
नेपालीको महान् चाड वडादशैँका बेला पनि कोरोना भाइरसबाट सङ्क्रमितलाई गुर्जोको बिरुवा, चिया र धुलो वितरणमा जुटे, अभियानकर्मी कमलबहादुर राजलवट । दशैँको मुख्य दिन विजयादशमीका दिन समेत उनले कोरोना सङ्क्रमित भई घरमै आइसोलेसनमा बसी गुर्जोका सामग्री माग्नेलाई सम्बन्धित स्थानमै पुगेर वितरण गरेका हन् । अभियानकर्मी राजलवटले हालसम्म एक लाखभन्दा बढी गुर्जोका बिरुवा निःशुल्क वितरण गरिसकेकाे बताए ।
आन्तरिक राजश्व कार्यालय लहानमा प्रमुख कर अधिकृत पदमा कार्यरत उनले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा बनाई देशव्यापी रुपमा निःशुल्क वितरण गरिरहेका छन् । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन उपयोगी वनस्पति गुर्जोको बिरुवा लगायत यसबाट बनेका सामग्री माग गर्नेको सङ्ख्या पनि हाल दिनप्रतिदिन बढिरहेको छ ।
गर्भवती महिला र पाँच वर्ष मुनिका बालबालिकाका लागि भने गुर्जो सेवन गराउनु हुँदैन । आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छन् तिनलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने भावना अनुसार देशव्यापी रुपमा गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको हो ।
गुर्जोको धुलो मन तातो पानीमा मिसाएर एक हप्ता सेवन गर्ने बानी बसाले कोरोना पोजेटिभ भएकामा छिटो निको हुने गरेको अभियानकर्मी राजलवटले दावी गरे । माग गर्ने जति सबैलाई निःशुल्क गुर्जोको बिरुवा, गुर्जोबाट बनेको चिया र धुलोसमेत उपलब्ध गराउने गरेको उनको प्रतिबद्धता छ ।
राजलवटलाई योग शिक्षक एवं राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक रामप्रसाद पन्थी, उपत्यकाका विभिन्न स्थानमा सक्रिय सफाइ अभियानकर्मी लगायतले गुर्जोको बिरुवा वितरण अभियानमा सहयोग गरेको जनाइएको छ । गुर्जोसँगै अमला, निम, तुलसीपत्र, समी, कपुर जस्ता औषधीय गुणले युक्त वनस्पति रोपणमा लाग्न पनि अभियानले आम मानिसमा आह्वान गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्