अर्पण पराजुली । “बाघ बिरालो भन्दा धेरै ठुलो छ तर मुसालाई बाघ भन्दा बिरालोको डर बढी हुन्छ”। निकटता परिचयात्मक आवरण हो। जो जति निकट हुन्छ उस्को तेति नै बढी आन्द्राभुँडी केलाउन सकिन्छ। बाघले कहिल्यै मुसो खोज्दै हिँड्दैन र मुसालाई बाघको झम्टाइ कस्तो हुन्छ पत्तो नै हुन्न।कि म्वाइँ खानेले मुटु झस्काउँछ कि झापड हान्नेले। बाघले मुसालाइ म्वाइँ नि खाँदैन र झापड नि हान्दैन।बिरालोको पन्जाबाट फुत्केको मुसा बाघको छेउमा लुक्न पुग्न सक्छ। मुसालाइ बाघको घुराइ बरु प्रीय लाग्न सक्छ तर म्याउम्याउ गर्ने आवाजले निद हराम गराइदिन्छ। आन्दोलन मुद्दामा आधारित उत्तेजना हो।

हरेक मानिसको दिमागले आफ्नो परिवेशको विश्लेषण गरिरहेको हुन्छ। बिषेशत: जनजिवीकाको सवाल, परम्परागत अन्याय र नयाँ परिवर्तनप्रतिको चाहानाले बिचार मिल्नेहरुको झुण्ड तयार पार्छ। बिचार मिल्नेहरु बिचको निरन्तर बहसले नयाँ नयाँ परिबेशको सृजना गर्दै जान्छ र क्षमता अनुसारको जिम्मेवारी लिँदै सामुहिक गतिशीलतामा त्यो आन्दोलन अघि बढछ।यहि आन्दोलनरत समुहलाई नै पार्टी भनिन्छ।

विभेद, गरिबी, तत्कालीन शाषकहरुको कार्यशैली, अस्तव्यस्तता, अन्तर्राष्ट्रिय अभ्यास, परिवर्तनपछिको सुन्दर समाजको परिकल्पना र अपेक्षाले राजनैतिक पार्टीहरु प्रति आम मानिसको समर्थन र बिरोधाभासको अवस्था सृजना गर्दछ। समाज ब्यबस्थापनका उत्तम उपायहरु बारे बहस गर्दै स्थानीय परिवेश, सामाजिक रुपान्तरण र आर्थिक नवनिर्माण, लैंगिकता, प्राकृतिक स्रोत साधन, अन्तर्राष्ट्रिय सम्बन्ध र लोककल्याणकारी राज्य लगायतका बिषयबस्तुको सन्दर्भमा पार्टीको आधिकारिक धारणा सहित बिधान बन्छ र सोही बमोजिम पार्टी स्कुलिङ शुरु हुन्छ। अनि बिचार मिल्नेहरु जुट्दै जान्छन् र नमिल्ने हरु फुट्दै जान्छन्। धेरै किसिमका मुद्दाहरुको सार बाट नीति र दृष्टिकोण बन्न जान्छ ।धेरै वटा पार्टीहरु गठन भएपछि एकातिर बहसका पाटाहरु र भाकाहरु फरक हुन जान्छ भने अर्कोतिर ठुलो बन्ने होडबाजीमा पार्टीहरुले जादुमयी घोषणापत्र बनाउँछन र ठुला ठुला सपनाहरु देखाइदिन्छ्न।

आम जनतामा प्रगतिको बाधक भनेको सत्ताधारीहरु हुन भन्ने भाव जगाइदिन्छ्न र जहाँ जे समस्या छ त्यसैलाई उचालेर सँख्यात्मक भीड जम्मा गर्न थाल्छन्। आमआशावादी मानिसहरु “जता मल्कु त्यतै ढल्कु”को दाउपेचमा रहेका हुन्छन्। नेपालमा बि. सं २००६ सालमा आदरणीय पुष्पलालले कम्युनिस्ट बिचारको बिजारोपण गरे।

एकातिर राणाहरुको निरंकुशता, अर्कोतिर शक्तिशाली बन्न छ्ट्पटाइ रहेका दर्वार र राजावादीहरु अनि गाउँ- गाउँ , घर घर , गोठ -गोठ र खला -खलामा पुगिरहेको नेपाली काँग्रेसको जनपक्षीय यात्रा यी सबैको बिचमा पुष्पलाल र वहाँका समकक्षीहरुको प्रयास कि त तत्कालीन काँग्रेसी बिचार प्रतिको असहमतिको उपज हो कि त समाज र अन्तर्राष्ट्रिय परिवेशको गहिरो अध्ययनको नतिजा हो। जे होस नेपालमा कहिले जुट्दै कहिले फुट्दै कम्युनिस्ट आन्दोलन लोकतान्त्रिक गणतन्त्र सम्म आइपुगेको छ। झट्ट हेर्दा दुई तिहाइ बहुमत नजिकको नेकपा ठुलो पार्टीको रुपमा देखिएको छ, अन्य बाम घटकहरु पनि छँदैछन् ।

नेपालमा कम्युनिस्ट आन्दोलन उत्तेजना र भावी सपनाको नतिजाको रुपमा लखारलुखुर गरेर जहाँ पुगे पनि अवको यात्रा चुनौतीपूर्ण छ। एकातिर बिश्वमा कम्युनिस्ट आन्दोलन कम्जोर हुँदै जानू, बिश्व शक्ति राष्ट्रको रुपमा रहेको अमेरिका बिश्वमा नै गैरवामपन्थीलाई प्रोत्साहन गर्न उद्दत हुनु, दक्षिण एशियामा पक्कड जमाइ रहेको भारत यस भेगको पुँजीवादी माउ शक्तिको रुपमा जुरमुराउनु र भारतको दृष्टिकोणको प्रत्यक्ष प्रभाव नेपालमा पर्नु जस्ता अन्तर्राष्ट्रिय कारकहरु त छँदैछन् साथै केहि तपशीलका आन्तरिक तत्वहरुका कारण नेपालका कम्युनिस्टको भावी यात्रा चुनौतीपूर्ण छ।

१. पार्टीको कार्यभार तथा कार्य दिशा स्पष्ट हुन नसक्नु

२.नेतृत्वको परम्परावादी सोच

३. नेता/ कार्यकर्ता ब्यबस्थापनमा चुनौती

४. सैद्धान्तिक बामपन्थवाद ब्यबहारिक हुन नसक्नु

५. कम्युनिस्ट र गैर कम्युनिस्ट बिचको शाषकीय अभ्यासमा तात्वीक अन्तर नदेखिनु

६. सर्वहारा बर्ग नारामा सिमित हुनु, मध्यमबर्गीय शिक्षीत युवाहरु राजनीति प्रती आकर्षीत हुन नचाहनु र पुँजीवादीहरुको चन्दाले असल कार्यकर्ता छेउ लाग्न बाध्य पार्नु

७. नेतृत्वमा आफू पदमा भए मात्र सबै राम्रो हुन्छ भन्ने मानसिकता

८. गुट उप गुटको रवैयाले निम्त्याएको नैराश्यता मुसा चाहिँ बाघ सँग डराइरहँने अनि बिरालोले कुँडे नि भ्याउने मुसा नि सिधा्याउने प्रवृत्ति चिर्न नसकेसम्म साम्यवादी सपना सपनै मात्र हुनेछ।

नेपालका कम्युनिस्टहरु प्रधान शत्रु पहिचान गरेर प्रहार गर्न अझै चुकीरहेका छन्। हरेक आन्दोलन र शाषकीय स्वरुप परिवर्तनमा गैर कम्युनिस्टहरुको साथ र सम्झौताले मात्र सम्भव भएको छ। खोलोमा बाँध हालेर खेतमा कुलो पुर्याउन जति सजिलो छ समुन्द्रमा बाँध हालेर कुलो लैजान त्यति सजिलो छैन। अवको एकताको महाधिवेशनले कसरि कुलो बनाएर सिँचाइ गर्ने रणनीति तय गर्छ त्यसैले जटिलताको आयतन निर्धारण गर्नेछ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।