एजेन्सी । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा चेन्नई सुपर किंग्सलाई १० विकेटले पराजित गर्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्यो । मुम्बईको सानदार जितमा ईशान किशन ३७ बलमा ६ चौका र ५ छक्का सहित ६८ रनमा अविजित रहे । क्विन्टन डी कक ३७ बलमा ५ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो । चेन्नईका युवा ब्याट्सम्यान साम करनले ४७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए । इमरान ताहिर १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे । नवौं विकेटका लागि ताहिर र करनले ३१ बलमा ४३ रनको साझेदारी गरेका थिए । नवौं विकेटका लागि आइपिएल इतिहासकै सर्वाधिक ठूलो साझेदारी हो । एक समय आइपिएल इतिहासकै कम योगफलको अवस्थामा पुगेको चेन्नईलाई साम करनले बचाएका थिए ।

चेन्नईले पहिलो ओभरको पाँचौ बलमा ओपनर रितुराज गायकवाडलाई शून्यमा गुमाएको थियो । ओपनर रितुराजलाई ट्रेन्ट बोल्टले एलबिडब्लू आउट अपिल गरेपनि अम्यायरले दिएका थिएनन् । तर कप्तान काइरन पोलार्डले रिभ्यु लिदै बोल्टको अपिललाई सहि सावित गरेका थिए । जुन समय चेन्नईले खाता खोल्न सकेको थिएन ।

जसप्रित बुमराहको दोस्रो ओभरको चौथो बलमा अम्बाती रायुडु क्विन्टन डी ककबाट दुई रनमा समातिन पुगे । लगत्तै अर्को बलमा नारायण जगदिशन शून्यमा सूर्यकुमार यादवबाट क्याच आउट हुँदा चेन्नई ३–३ को कमजोर अवस्थामा पुगेको थियो ।

बोल्टको तेस्रो ओभरको पाँचौ बलमा एज लाग्दै फाफ डु प्लेसिस डी ककबाट क्याच आउट भएपछि चेन्नई ३–४ को अवस्थामा पुगेको थियो । तीन रन जोड्दा प्रमुख चार विकेट गुमाएको चेन्नईले पाँचौ विकेटका रुपमा रविन्द्र जडेजालाई गुमाएको थियो । बोल्टको छैटौं ओभरको दोस्रो बलमा जडेजा सात रनमा क्रुनाल पान्ड्याबाट क्याच आउट हुन पुगेका थिए । आइपिएल इतिहासमा चेन्नईले पहिलो पटक पावर प्ले मा पाँच विकेट गुमाएको हो । अर्थात चेन्नईको यो इतिहासकै खराब पावर प्ले हो ।

स्पिनर राहुल चहरको सातौं ओभरको चौथो बलमा कप्तान महेन्द्रसिंह धोनी १६ रनमा क्याच आउट भएपछि आइपिएल इतिहासकै कम योगफलको खतरामा परेको थियो । धोनीले १६ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

तर साम करनले राम्रो ब्याटिङ गर्दै रोयल च्यालेनजर्स बेंगलोरले सन् २०१७ मा कोलकाता नाइट राइडर्सविरुद्ध बनाएको सबैभन्दा कमयोगफल ४९ को खतरा टरेको थियो । नवौं ओभरको पाँचौ बलमा दीपक चहर स्टम्पिङ आउट भए । दीपक आफ्नो भाई राहुलको बलमा शून्यमा स्टम्पिङ आउट हुन पुगेका थिए ।

४३–७ को अवस्थामा पुगेको चेन्नईलाई करन र सार्दुल ठाकुरले २८ रनको साझेदारी गर्दै चेन्नईको साख बचाएका थिए । ठाकुर १५ औं ओभरको पाँचौ बलमा ११ रनमा यादवबाट क्याच आउट हुन पुगेका थिए । ठाकुरले २० बल खेलेका थिए ।

जस्प्रित बुमराहले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभर १ मेडन १८ रन खर्चेर ४ विकेट लिए । राहुल चहरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । नाथन कुल्टर नाइलले एक विकेट लिए ।

चेन्नईको यो इतिहासकै खराब प्रर्दशन हो । यो हारसँगै अन्तिम चारमा रहेर प्ले अफ खेल्ने सम्भावना चेन्नईको लगभग सकि सकेको छ । चेन्नईले अव रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध आइतबार खेल्ने छ । मुम्बईले अव आइतबार राजस्थान रोयल्ससँग खेल्ने छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।