बडादशैंको आठौं दिन आज देशभर दूर्गा भगवतीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ ।

आजैको दिन देबीले राक्षसहरुलाई मारेको दिनभएकोले जनावारहरुको बलिदिने चलनको सुरुवात गरिएको हिन्दु धर्मग्रन्थहरुमा लेखिएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दर्शैघर अथवा मण्डपमा वैदिक विधिपूवक नवदुगा भवनाको आवाहन गरी घटस्थापना गरिएको स्थानमा आज महा अष्टमीको पूजाआजा गरिन्छ । आज मध्यरातमा कालरात्रीको पूजा गर्ने चलन छ ।  मध्यरातको यस पूजाबाट प्रसन्न भई देवीले शुभफल र कल्याण दिन्छिन् भन्ने विश्वास रहेको छ ।

दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ । दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेद्यसहित नौ वटा वस्तुको दुर्गा थापी पूजा गर्ने चलन छ । किसानले फलामे औजारको पूजा गर्छन् ।

यस्तै, सवारीधनीहरुले आफ्ना साधनलाई बलिसहित पूजा गर्छन् । पशुबली नचढाउनेहरुले पूजाकोठामा मूला, कुभिन्डो, घिरौंलालगायत तरकारीको बलि दिने गर्छन् ।

मन्दिर र शक्तिपीठहरुमा देवी दुर्गाका शक्तिपीठहरूमा पुजापाठ हुने भएपनि यस वर्ष कोरोना संक्रमणको जोखिम भएकाले शक्तिपीठहरु बन्द गरिएको छ । त्यहाँ पूजारीहरुबाट नित्य पूजा मात्र हुँदै आएको छ ।

बडादशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ ।