हेटौंडा । आज हिन्दू नेपालीहरुको महान चाड बडा दशैंको पाँचौ दिन । आज दशैंको पाँचौ दिन हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गर्दछन् ।

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यीनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने स्कन्दमाता पद्मासन सहित सिंहमा सवार रहन्छिन् ।

सौर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ । देवी स्कन्दमाताको पूजाअर्चनासहित आ–आफ्नो घरमा राखिएको जमरा तथा दुर्गा सप्तशती चण्डी पाठ पनि गरिन्छ । दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ ।

मन्दिर र शक्तिपीठहरुमा देवी दुर्गाका शक्तिपीठहरूमा पुजापाठ हुने भएपनि यस वर्ष कोरोना संक्रमणको जोखिम भएकाले शक्तिपीठहरु बन्द गरिएको छ । त्यहाँ पूजारीहरुबाट नित्य पूजा मात्र हुँदै आएको छ ।

बडादशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ ।