हेटौंडा । देशमा पछिल्लो समय बलात्कारजन्य महिला हिंसाका घटनाहरु बढ्दै गईरहेको भन्दै त्यसको विरुद्धमा बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदर्शन गरिएको छ ।

शनिबार बिहान विभिन्न स्थानका युवायुवतीहरु हेटौंडाको हुप्रचौरमा जम्मा भई हुप्रचौरबाट बुद्धचोकसम्म र्याली तथा विरोध प्रदर्शन गरेका थिए ।

करिब एक घण्टा गरिएको प्रदर्शनमा उनीहरुले ‘अर्को पालो मेरो पो हो की ?’,‘मलाई बाच्न मन छ मलाई बचाउ’,‘कस्तो कानुन कस्तो सरकार ?’,‘कपडा छोटो की नजर खोटो’,सरकार देखाउ इच्छा खोई त! महिलाको सुरक्षा ??? अर्को पालो मेरो पो हो की ???’,रातो कार्पेट र हेलीकप्टरमा मात्र हिड्छौकी महिलाको न्यायको लागि बोल्छौ? राष्ट्रपती ज्यु’,‘यो अत्याचार अब म सहन्न अब म बोल्छु अब मौन रहन्न’,‘हत्या हिंसा बलात्कार समाज बाटै बहिस्कार’,हरेक नेपाली नारीले लक्ष्मी हैन काली बनेर आफ्नो रक्षा गर्ने बेला आएको छ ।’ लगायत लेखिएको प्लेकार्ड बोकेका थिए । उनिहरुले पछिल्लो समय देशमा बलात्कारजन्य महिला हिंसाका घटनाहरु बढ्दै गएको र सरकार मौन रहेको भन्दै बलात्कारीहरुलाई कडा कारबाही गर्नुपर्ने कानुन ल्याउनु पर्ने बताएका थिए ।

यसैगरी प्रदर्शनमा दर्जन बढी युवतीहरुले सडकमै आँखामा कालोपट्टी,मुखमा कालो मास्क,हातमा कालो पट्टी बाँधेर र कालो कपडा लगाएर शान्तिपूर्ण नृत्य प्रदर्शन समेत गरेका थिए । प्रदर्शनमा करिब १ सय ५० बढी युवायुवतीहरु सहभागिता रहेको थियो ।

तस्विहरु: खबरब्रेक


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।