सांकेतिक तस्विर

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालयल मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई रु १२ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको टोलीले आज पक्राउ गरेको हो । आयोगका अनुसार उनलाई रुपन्देही सैनामैना नगरपालिका–६ स्थित कलौनी चोकबाट पक्राउ गरिएको हो ।

यस्तै, आयोगले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र सहनी र निजकी श्रीमती निर्मला केवटलाई रु चार लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

थुनामा रहेका आरोपीलाई छुटाइदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस मागेको अभियोगमा शुक्रबार सियारी गाउँपालिका–७ स्थित खनाल मिठाई पसल नजीकैबाट नियन्त्रणमा लिइएको हो ।उनीहरुलाई शुक्रबार पक्राउ गरिएको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको आयोगले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।