file photo

प्रधानमन्त्री केपी शर्मा ओलीले डा. बाबुराम भट्टराई कडा जवाफ फर्काएका छन् । केही दिन अघि गोरखामा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा जसपाका नेता डा.भट्टराईले प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् परियोजनाको नौ अर्ब भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले गलत सूचना दिएर जनतालाई भड्काउने खोजेको बताएका छन् । शुक्रबार ६५ औं प्रहरी दिवसको अवसरमा नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले डा. भट्टराईको आरोप खण्डन  गर्दै भने, ‘अभिव्यत्ति एउटा कुरा हो । तर, हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौँ । देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर,  भड्काएर,  गलत बाटोमा लाग्ने हर्कत हामी गर्दैनौँ । हामी सत्य निष्ठा र जिम्मेवारीका साथ मात्र अगाडि बढ्छौँ ।’

डा. भट्टराईको आरोपमा सत्यता नरहेको दावी गरेका प्रधानमन्त्री ओलीले उनको नाम नै नलिई आरोपलाई गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा दिए ।

सरकार भ्रष्टाचारविरुद्ध लागिरहेको भन्दै उनले भने, ‘नेपाल सरकार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिका साथ अगाडि बढेको छ । हुन त केही गैरजिम्मेवार तत्वहरु गैरजिम्मेवार तरिकाले बोलेर हिँडेको पनि मैले सुनेको छु । एउटा निर्णय नभएको,  कार्यआरम्भ नभएको र त्यो हुन्छ हुँदैन, कसले गर्छ, कसरी गर्छ भन्ने टुंगो नभएको कुरोमा  पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । त्यस्ता गैरजिम्मेवार अभिव्यक्ति निराधार हुन् ।’

यसैबीच प्रधानमन्त्री ओलीले नागरिकको विश्वास जित्ने गरी काम गर्नु पर्नेमा प्रहरीलाई जोड दिए । ‘हाम्रा व्यवहार र अभिव्यक्तिले नागरिकको विश्वास जित्नुपर्छ । ओलीले भने, ‘प्रहरीमाथिको विश्वास नागरिकमा कमजोर भयो भने सुरक्षास्थिति कमजोर हुने खतरा हुन्छ ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।