हेटौंडा /मकवानपुरमा पछिल्लो ४ दिनमा ५ सवारी दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् । आज पनि मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर ११ को नवलपुरमा सवारी दुर्घटना भएको छ । दुर्घटनामा ९ जना घाईते भएका छन् । घाईतहरुको उपचार हेटौंडा स्थित चुरेहिल अस्पतालमा भईरहेको छ । मनहरीबाट हेटौंडा आउँदै गरेको ना ५ त ७७०० नंबरको ट्याक्टरलाई सोहि दिशाबाट हेटौंडा आउँदै गरेको ना १ ज ८६८५ नंबरको माईक्रोले ठक्कर दिँदा ९ घाईते भएका हुन् ।

यसअघि गएको असोज १० गतेदेखि आजसम्म ५ वटा दुर्घटना भएका छन् । असोज १० गते दिउँसो पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नंबर ९ खरङ्गामा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा बारा जिल्लाको रतनपुर २ बस्ने मोटरसाईक चालक सुर्य स्याङतानको ज्यान गयो । मोटरसाईकल पछाडी बस्ने घाईते भएकी १८ वर्षीया विनिता स्याङतानको भने अझै उपचार भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि असोज १० गते मकवानपुरगढी दरवारबाट साँझ हेटौंडा आउँदै गरेको ना ३९ प ९५४५ नंबरको मोटरसाईकल आफै अनियन्त्रित भएर सडकबाट २५÷३० फिट तल खस्दा मोटरसाईकलमा पछाडी सवार मकवानपुरगढी ३ का ४६ वर्षीय भरत पुडासैनीको ज्यान गयो । मोटरसाईकल चालक कुमार पराजुली भने सामान्य घाइते भए ।

यसैगरि असोज १२ गते सोमबार हेटौंडा १५ चुरियामाई नजिक ट्रक र ट्याक्टर ठोक्किदाँ ट्याक्टर चालक बारा परवानिपुर गाँउपालिकाका २२ वर्षिय लालबाबु यादबको ज्यान गयो । बाराबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ४१६४ नम्बरको ट्रकको ब्रेक फेल भएपछि हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ३ त ६९३१ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा तीन जना घाईते भएका थिए ।

यसैगरि असोज १३ गते अर्थात हिजो हेटौंडाबाट बकैया जाँदै गरेको ना १५ प ५१७० नंबरको मोटरसाईकले हेटौंडा ७ न्युरेनीमा रोकी राखेको टिपरलाई ठक्कर खाँदा मोटरसाईकलमा पछाडी सवार बकैया ५ का ईन्द्र बहादुर थिङको ज्यान गयो । सोहि स्थानका मोटरसाईकल चालक २१ वर्षीय जुत्ते घलान घाइते भए । उनको पनि उपचार भईरहेको छ ।

खबरब्रेक संग कुरा गर्दै जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले पछिल्लो पटक दुर्घटना भएर घाईते भएकाहरु अधिकांस उपचारमा रहेको बताए । उनले सडक दुर्घटना हुनुको विभिन्न कारण रहेको बताए ।

उनले सबैभन्दा बढी सवारी दुर्घटना हुनुमा चालकले आफ्नो सवारी ओभर स्पीडमा गुडाउँदा दुर्घटना भएको पाईएको बताए । उनले चालकको लापरबाहीले गर्दा सवारी दुर्घटना हुने गरेको बताए । सवारी चलाउँदा चालकले विशेष ध्यान दिनुपर्ने तथा ट्राफिक नियममा पालना गर्नुपर्ने प्रवक्ता रानाले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।