मनहरी–मकवानपुर क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य बिरोध खतिवडाले राक्सिराङ गाउँपालिकालाई पूर्ण विद्युतीकरणको पहलकदमी लिएका छन् ।

सीमान्तकृत चेपाङ जातिको बाक्लो बसोबास रहेको राक्सिराङ गाउँपालिकालाई विद्युतयुक्त गाउँपालिका बनाउने लक्ष्यका साथ नेपाल विद्युत प्राधिकरणम सांसद खतिवडाको पहलमा चालू आर्थिक बर्षमै कार्यान्वयन हुनेगरी ६ करोड रुपियाँ बिनियोजन भएको छ ।

पूर्ण विद्युतीकरणका लागि १५ करोड लाग्ने अनुमान भएपनि अर्काे बर्ष समेत बजेट हाल्ने गरी हाललाई नेपाल विद्युत प्राधिकरणले ६ करोड रुपियाँ कार्यान्वयनका लागि जिल्ला शाखमा अख्तियारी पत्र पठाएको खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश कार्यालय हुँदै नेपाल विद्युत प्राधिकरणको हेटौँडा बितरण केन्द्रमा ६ करोड रुपियाँ कार्यान्वयनको अख्तियारी पत्र पुगेको छ । ‘पूर्ण विद्युतीकरण यसै बर्ष गर्नका लागि मैले प्रयत्न गरेको थिएँ’, सांसद खतिवडाले भन्नुभयो–‘कोभिड लगायतका कारणले बजेट यथेष्ट आउन सकेन, अब अर्काे बर्ष पूर्ण विद्युतीकरण हुने गरी काम गर्ने योजनामा छौँ ।’

केहीदिन अघि नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयले राक्सिराङ गाउँपालिकामा विद्युतीकरणका लागि अख्तियारी पत्र पठाएको आवश्यक प्रक्रिया अघि बढेको नेपाल विद्युत प्राधिकरण हेटौँडा बितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरले बताउनुभयो । ‘अब लागत इस्टिमेट बनाएर ठेक्का प्रक्रियाय सुरु गरिहाल्छौँ’, प्रमुख ठाकुरले भन्नुभयो ।

राक्सिराङ गाउँपालिकाको पूर्ण विद्युतीकरणका लागि १५ करोड रुपियाँ लाग्ने लागतसहित यसअघि सांसद खतिवडाले गाउँपालिकाको माग निवेदन, प्राधिकरणको हेटौँडा बितरण केन्द्र र प्रदेश कार्यालयको सिफारिससहित नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पहल गर्नु भएको थियो ।

प्राधिकरणमा पेस भएको मागमा राक्सिराङका बिजुली नपुगेका ४ वटा वडामा पूर्ण विद्युतीकरण र अन्य वडामा काठको पोल बिस्थापन र आंशिक बिजुली बिस्तारको लागत इष्टिमेट बनाइएको थियो । प्रस्तावमा वडा नं ४, ६, ७ र ९ मा ११ केभी विद्युत जडान गर्ने र बिस्तार गर्ने कार्य उल्लेख छ ।

यसका लागि १५ वटा ट्रान्सफर्मर लाग्ने अनुमान गरेको प्राधिकरणले ९ मिटरका ३ हजार ५ सय र ८ मिटरका ५ हजार विद्युत पोल लाग्ने उल्लेख रहेको थियो । तर १५ करोड प्राप्त नभएकाले अब ६ करोडको छुट्टै इस्टिमेट बनाएर ठेक्का प्रक्रिया अघि बढ्ने प्राधिकरण हेटौँडा बितरण केन्द्रले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।