इटालियन सिरी ‘ए’मा साविकको विजेता युभेन्टस बराबरीमा रोकिएको छ । आइतबार राति आफ्नो दोस्रो खेल खेलेको युभेन्टस रोमासँग २–२ गोलको बराबरीमा रोकिएको हो । रोमाको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि जोर्डान भभेरेटटले दुई गोल गरे भने युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

खेलको ३१औं मिनेटमा रोमाले पेनाल्टीको मौका पाएको थियो, जसमा भेरेटटले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाए । खेलको ४४औं मिनेटमा युभेन्टसले पनि पेनाल्टीको अवसर पाएको थियो, जसमा रोनाल्डोले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफको इन्ज्युरी समयमा भेरेटटले दोस्रो गोल गर्दै पुनः घरेलु टोलीलाई अग्रता दिलाए । ६२औं मिनेटमा युभेन्टस १० खेलाडीमा सीमित बनेको थियो, युभेन्टसका एड्रियन राबिओटले रातो कार्ड पाउँदै मैदान छोडेका थिए ।

यस्तै खेलको ६९औं मिनेटमा रोनाल्डोले दोस्रो गोल गर्दै युभेन्टसलाई हारबाट जोगाए । बराबरीसँगै युभेन्टसले दुई खेलबाट ४ अंक जोडेको छ । यसअघि युभेन्टसले पहिलो खेलमा साम्पोडोरियामाथि ३–० गोलको जित निकालेको थियो । यता, रोमाले भने एक अंक जोडेको छ । उसले पहिलो खेलमा भेरोनासँग ३–० गोलको हार ब्यहोरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।