राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा अध्यादेश जारी गरेकी छन् ।

सोमबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्ले सिफारिस गरेका तीन अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश–२०७७ गरेकी हुन् ।गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तेजावसम्बन्धी अध्यादेश पारित गर्दै राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदबाट पारित फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा पहिलेभन्दा कडा प्रावधान समेटिएको छ ।

फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाब फ्याँके, छर्किए, खन्याए वा प्रयोग गरी वा सेवन गराएर अङ्गभङ्ग र शारीरिक क्षति पुर्‍याउने व्यक्तिलाई २० वर्षसम्म कैद र दश लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । यो सजाय एकदिन पनि माफी–मिनाहा नहुने र पूरै अवधि जेल बस्नुपर्ने प्रावधान राखिएको छ ।

राष्ट्रपतिबाट फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।