एजेन्सी । गत सिजन च्याम्पियन्स लिगसहित तीन उपाधि जित्दै युरोपेली फुटबलमा तहल्का मच्चाएको बायर्न म्युनिखले सिजनको पहिलो खेलमा होफेनहाइमसँग ४-१ को लज्जास्पद हार बेहोरेको छ । लिगको पहिलो खेलमा साल्केविरुद्ध ८-० को जित दर्ता गरेको बायर्नले दोस्रो खेलमा पनि बलियो टोली नै उतारेको थियो । तर घरेलु टोली होफेनहाइमले बल पोसेसनमा पछाडी परेपनि आफूले पाएको अवसरलाई सदुपयोग गर्दै बायर्नलाई खेलमा पकड जमाउन दिएन । खेलको १६ औं मिनेटमा नै होफेनहाइमले एर्मिन बिकाक्चिचको गोलमा अग्रता लिएको थियो । डेनिस गेइगरको क्रसमा बिकाक्चिचको हेडर गोलमा परिणत भएको थियो ।

२४ औं मिनेटमा होफेनहाइमले अग्रता दोब्बर पार्यो । मुनास डाब्बरले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई गोलरक्षक म्यानुएल नोएरले बचाउन सकेनन् । ३६ औं मिनेटमा बायर्नले गोल फर्काउँदै खेलमा फर्कने संकेत गर्यो । थोमस मुलरको पासमा जोशुवा किमिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार टप कर्नरमा गोल भएको थियो ।

दोस्रो हाफमा बायर्नले आक्रमणमा खेलाडी थपेपनि खेलमा फर्कन भने सकेन । ७७ औं मिनेटमा घरेलु टोलीले गोल गर्दै दुई गोलको अग्रता पुन: स्थापना गर्यो । आन्द्रे क्रामरीचले इल्हस बेबोको पासमा गोल गर्दै ३-१ को स्कोर बनाए ।

इन्ज्युरी समयमा होफेनहाइमले अग्रता बढाउने अर्को अवसर पायो । म्यानुएल नोएरले बेबोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । उक्त पेनाल्टीलाई क्रामरीचले गोल गर्दै होफेनहाइमको फराकिलो जित पक्का गरे । यस जितसँगै होफेनहाइम अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टोलीले २ खेलमा ६ अंक जोडेको छ । बायर्न भने ३ अंकसाथ छैटौं स्थानमा छ ।

हाम्रो खेलकुदबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।