एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले ग्रानाडाविरुद्ध फराकिलो जित दर्ता गर्दा टोलीका नयाँ फरवार्ड लुइस सुआरेजले डेब्यु खेलमा नै दुई गोल गरेका छन् । एटलेटिकोले घरेलु मैदानमा ६-१ को जितसँगै नयाँ सिजनको सुखद सुरुवात गर्यो । पहिलो खेलमा वैकल्पिक खेलाडीका रुपमा रहेका सुआरेजले अन्तिम २० मिनेट मैदानमा बिताएपनि दुई गोल गर्न सफल रहे । उनी डिएगो कोस्टाको स्थानमा ७० औं मिनेटमा मैदान प्रवेश गरेका थिए । खेल ३-० को स्थितिमा मैदान प्रवेश गरेका सुआरेजले दुई मिनेटमा नै असिस्ट दिएका थिए । उनले अन्त्यतिर दुई गोल थपेपछि टोलीले सानदार जित दर्ता गरेको थियो ।

एटलेटिकोले खेलको नवौं मिनेटमा अग्रता लिएको थियो । एन्जल कोर्रियाको क्रसमा डिएगो कोस्टाले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । १५ औं मिनेटमा एटलेटिकोले पेनाल्टी प्राप्त गर्यो । दोमिंगो दुआर्टेले जोआओ फेलिक्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर साउल निगुएजले गरेको पेनाल्टी प्रहारलाई गोलरक्षक रुइ सिल्भाले विफल पारिदिए ।

पहिलो हाफमा १-० ले अघि रहेको एटलेटिकोले दोस्रो हाफमा भने लगातार आक्रमण बुन्दै गोलअन्तर बढाउन सफल रहयो । ४७ औं मिनेटमा एन्जल कोर्रियाले गोल गरे । जोआओ फेलिक्सको पासलाई एन्जलले पेनाल्टी क्षेत्रभित्रबाट गोलमा परिणत गरे । ६५ औं मिनेटमा कोर्रियाकै पासमा फेलिक्सले गोल गर्दै ३-० ले अघि बढाए ।

त्यसपछि मैदान छिरेका सुआरेजको पासमा मार्कस लोरेन्टेले गोल गर्दै स्कोर ४-० को अवस्थामा पुर्याए । आफ्नो गोलमा असिस्ट दिएका सुआरेजलाई लोरेन्टेले डेब्यु गोलको लागि अवसर दिए । उनकै पासमा सुआरेजले ८५ औं मिनेटमा गोल गर्दै खाता खोले । जोर्गे मोलिनाले ८७ औं मिनेटमा स्कोर ५-१ को स्थितमा ल्याए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा भिटोलोको पासमा सुआरेजले गरेको प्रहार पोस्टमा लागेर फर्कियो । तर लगत्तै सुआरेजले बायाँ खुट्टाले गरेको प्रहारलाई गोलरक्षकले रोक्न नसक्दा एटलेटिको ६-१ को फराकिलो जित दर्ता गर्न सफल रहयो । अघिल्लो दुवै खेलमा जित दर्ता गरेको ग्रानडा यस हारका बाबजुद दोस्रो स्थानमा छ । एटलेटिको पहिलो खेलमा जितसहित नवौं स्थानमा छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।